धनुषामा १८ महिने बालक चोरी, खोजीमा एसपी खड्का आफैं फिल्डमा
जनकपुरधाम, १८ भदौ । धनुषाको तिनकौरियाबाट १८ महिने बालक बेपत्ता भएपछि प्रहरीले खोजी तथा अनुसन्धानलाई तीव्र बनाएको छ ।
तिनकौरिया निवासी कमलेश महतोका १८ महिने छोरा सिद्धांश महतो हराएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो। त्यसलगत्तै प्रहरीले बालकको खोजी सुरु गरेको हो ।
प्रहरीका अनुसार घटनास्थल आसपासको सीसीटीभी फुटेजमा एक महिलाले बालकलाई लिएर गएको देखिएको छ ।
उक्त फुटेजका आधारमा प्रहरीले सम्भावित स्थान पहिचान गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
बालकको खोजीका लागि प्रहरीले तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरेको छ ।
खोजी टोलीले सीमावर्ती क्षेत्र तथा सम्भावित नाकामा समेत निगरानी बढाएको प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी प्रमुख एसपी रुपेश खड्का आफैं फिल्डमा खटिएर प्रहरी टोलीको नेतृत्व गर्दै बालकको खोजीमा जुटेका छन् ।
प्रहरीले विभिन्न सम्भावित स्थानमा खोजी तीव्र पार्नुका साथै घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।
बालकको अवस्था र घटनामा संलग्न व्यक्तिबारे हालसम्म प्रहरीले कुनै थप विवरण सार्वजनिक गरेको छैन ।


