जनकपुरधाम, १८ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि जनकपुरधामस्थित सिद्धार्थ शिशु सदन स्कुलले आर्थिक सहयोग गरेको छ ।

विद्यालयले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा २ लाख ५१ हजार रुपैयाँ सहयोग रकम जम्मा गरेको हो ।

विद्यालयका प्रिन्सिपल राजु यादवले सहयोग रकम जम्मा गरेको भौचर तथा सम्बन्धित पत्र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललाई हस्तान्तरण गरेका छन् ।

बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, निजी क्षेत्र तथा सर्वसाधारणबाट सहयोग जुटिरहेको छ ।

सोही अभियानमा ऐक्यबद्धता जनाउँदै विद्यालयले आफ्नो तर्फबाट सहयोग गरेको जनाएको छ ।

विद्यालयले विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ ।