विश्व सम्पदाको तयारीमा जानकी मन्दिर, आसपासको क्षेत्र ‘जोन ए’ मा संरक्षित
जनकपुरधाम, १८ भदौ । सरकारले जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जानकी मन्दिर आसपासको क्षेत्रलाई ‘जोन ए’ संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयसँगै जानकी मन्दिर वरपरको क्षेत्रमा भौतिक संरचना निर्माण, पुनर्निर्माण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष मापदण्ड पालना गर्नुपर्ने भएको छ ।
यसबाट मन्दिरको ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक मौलिकतामा असर पर्ने गरी जथाभावी निर्माण तथा संरचना थप्ने कार्य नियन्त्रण हुने विश्वास गरिएको छ ।
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउने प्रयास भइरहेका बेला सरकारले मन्दिर क्षेत्रलाई संरक्षित स्मारकको दायरामा ल्याउने निर्णय गरेको हो ।
यसअघि पनि पुरातत्व विभागले जानकी मन्दिरसहित आसपासका महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक स्थल समेटेर संरक्षित क्षेत्र घोषणा गर्ने प्रक्रिया अघि बढाएको थियो ।
प्रस्तावित क्षेत्रमा जानकी मन्दिरसँगै शिवमन्दिर, राममन्दिर, सोनारपट्टी, जनकचोक, शिवचोक, तेलहा–मडहा पोखरी, अंगराजसर पोखरी हुँदै बारहबिघासम्मको क्षेत्र समेट्ने योजना अघि सारिएको थियो ।
जानकी मन्दिर जनकपुरधामको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको प्रमुख ऐतिहासिक सम्पदा हो ।
सन् १८९४ मा शिलान्यास गरिएको मन्दिरको निर्माण सन् १९११ मा सम्पन्न भएको थियो ।
संरक्षित स्मारक क्षेत्र घोषणालाई जानकी मन्दिरको संरक्षणसँगै आसपासको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक वातावरण जोगाउने महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।


