जनकपुरधाम, १८ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले धनुषाको मिथिला बिहारी नगरपालिकाले करिब ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

नगरपालिकाले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी र पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

नगरपालिकाको कार्यपालिका तथा विपद् व्यवस्थापन समितिको निर्णयअनुसार जनप्रतिनिधि, कर्मचारी, नगरपालिका विपद् व्यवस्थापन कोष तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीबाट रकम संकलन गरिएको हो ।

नगरपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट १० लाख रुपैयाँ, नगर प्रमुख राजेन्द्रप्रसाद यादवको तर्फबाट २४ हजार ५ सय रुपैयाँ, उपप्रमुखको तर्फबाट १९ हजार रुपैयाँ, वडा सदस्यहरूको तर्फबाट १ लाख २ हजार रुपैयाँ, कार्यपालिका सदस्यहरूको तर्फबाट १ लाख ३८ हजार रुपैयाँ र नगरपालिकाका कर्मचारीहरूको तर्फबाट ७ लाख ९१ हजार १२४ रुपैयाँ सहयोग संकलन गरिएको छ ।

त्यस्तै, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको तर्फबाट ९ लाख ३ हजार ४८५ रुपैयाँ सहयोग जुटाइएको नगरपालिकाले जनाएको छ ।

यसरी विभिन्न शीर्षकबाट संकलित कुल २९ लाख ७८ हजार १०९ रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको भन्दै मानवीय विपद्को समयमा सहकार्य र एकताको आवश्यकता औँल्याएको छ ।