जनकपुरधाम, १८ भदौ । जलवायु परिवर्तनका कारण बढ्दो गर्मी, बाढी, पहिरो तथा मौसममा देखिएको अस्वभाविक परिवर्तनका बीच जनकपुरधाममा वृक्षारोपण अभियानलाई अघि बढाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहको नेतृत्वमा जनकपुरधाम–१२ कुवास्थित राजदेवी मन्दिर अगाडिको सार्वजनिक खाली मैदानमा वृक्षारोपण गरिएको हो ।

वृक्षारोपणका क्रममा विभिन्न प्रजातिका करिब ५० वटा बिरुवा रोपिएका छन् ।

लामो समयदेखि खाली रहेको सार्वजनिक क्षेत्रलाई हरियालीयुक्त बनाउने उद्देश्यले वृक्षारोपण गरिएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा समिति सदस्यसमेत रहेका एनप्याब्सनका जनकपुरधाम नगर अध्यक्ष दिपक ठाकुरले बताए ।

कार्यक्रममा सहभागीहरूले तराईमा बढ्दो तापक्रम, घट्दो हरियाली र वातावरणीय असन्तुलन न्यूनीकरणका लागि सार्वजनिक स्थानमा वृक्षारोपणलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

वृक्षारोपणले वातावरणीय सन्तुलन कायम गर्नुका साथै स्वच्छ हावा, शीतलता र हरियाली प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

यसअघि पनि नगर प्रमुख साहको नेतृत्वमा जनकपुरधामस्थित ऐतिहासिक तिरहुतिया गाछीमा ठूलो संख्यामा वृक्षारोपण गरिएको थियो ।

पछिल्लो समय उक्त क्षेत्र थप हरियालीयुक्त बन्दै गएको छ ।