जनकपुरधाम, १८ भदौ । जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत धनुषाको फैसला कार्यान्वयनअन्तर्गत सजाय तोकिएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले खोजतलासका क्रममा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जनालाई ठगी मुद्दामा २ वर्ष कैद र १२ लाख २५ हजार १६० रुपैयाँ जरिवाना तोकिएको थियो ।

त्यस्तै, कुटपिट तथा लुटपाट मुद्दामा एक जनालाई ४ सय रुपैयाँ जरिवाना, ज्यान मार्ने उद्योगका तीन जना प्रतिवादीलाई क्रमशः ६ वर्ष, ५ वर्ष र ५ वर्ष कैद सजाय तोकिएको थियो ।

अर्का एक जनालाई कुटपिट मुद्दामा २ वर्ष कैद सजाय तोकिएको प्रहरीले जनाएको छ ।

अदालतबाट सजाय तोकिएपछि वारदातपश्चात फरार रहेका उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार अदालतबाट फैसला भई फरार रहेका अन्य प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई समेत प्रहरीले निरन्तरता दिइरहेको छ ।