महोत्तरी, १८ भदौ । प्राकृतिक तथा दैवी प्रकोपबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले महोत्तरीको रतौली युवा क्लबका कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

क्लबमा कार्यरत कर्मचारीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।

कर्मचारीहरूको पारस्परिक सहमति र स्वैच्छिक योगदानबाट संकलित रकम कोषमा जम्मा गरिएको क्लबले जनाएको छ ।

रतौली युवा क्लबका अध्यक्ष साकिर खानका अनुसार विपद्का कारण प्रभावित व्यक्ति तथा परिवारलाई राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले कर्मचारीहरूबाट रकम संकलन गरिएको हो ।

क्लबले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रमाण तथा सहयोग गर्ने कर्मचारीहरूको विवरणसमेत जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई उपलब्ध गराएको जनाएको छ ।

विपद्का समयमा पीडित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउन सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटिरहेका बेला रतौली युवा क्लबका कर्मचारीहरूले पनि आफ्नो तर्फबाट आर्थिक सहयोग गरेका हुन् ।