सिरहा, १८ भदौ । सिरहाको औरही गाउँपालिकामा सञ्चालित कृषि कार्यक्रमको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा माछापालनका लागि सञ्चालन गरिएको ‘साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम’ अन्तर्गत कामै नगरी तथा तोकिएको मापदण्ड पूरा नगरी झुट्टा बिल भरपाईका आधारमा रकम भुक्तानी लिएको अख्तियारको अनुसन्धानबाट खुलेको जनाएको छ ।

अख्तियारका अनुसार औरही गाउँपालिका र प्रगतिशील कृषक समूहबीच माछापालन कार्यक्रम सञ्चालनका लागि १५ लाख रुपैयाँमा सम्झौता भएको थियो । तर, सम्झौताअनुसार माछाका भुरा, दाना, चन तथा कृषि सामग्री वितरण नगरी काम सम्पन्न भएको देखाएर ८ लाख २ हजार ८ सय ७८ रुपैयाँ बढी भुक्तानी लिएको आयोगको दाबी छ ।

यस प्रकरणमा औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, तत्कालीन पशु शाखा प्रमुख रमेश नारायण शर्मा, तत्कालीन लेखापाल आशिष कुमार कामती र प्रगतिशील कृषक समूहका अध्यक्ष राम भजन यादवलाई प्रतिवादी बनाइएको छ ।

अख्तियारले चारै जनाविरुद्ध जनही ८ लाख २ हजार ८ सय ७८ रुपैयाँ बिगो मागदाबी गरेको छ ।

आयोगका अनुसार तत्कालीन पशु शाखा प्रमुख रमेश नारायण शर्माले आफू पदमा नरहेको अवस्थामा समेत प्रमुख प्रशासकीय अधिकृत भएको भनी ओहदा तथा अधिकारको दुरुपयोग गरेका थिए । सरकारी कागजातमा अनधिकृत रूपमा सच्याउने तथा विवरण हेरफेर गर्ने कार्यसमेत गरेको आरोप उनीमाथि लगाइएको छ ।

यस कार्यमा शर्मालाई भ्रष्टाचार निवारण ऐनको दफा ११ र १५ बमोजिम थप सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

त्यस्तै, कृषक समूहका अध्यक्ष राम भजन यादवले सरकारी कर्मचारीसँग मिलेमतो गरी गैरकानुनी लाभ लिने बदनियत राखेको भन्दै उनलाई भ्रष्टाचारको मतियारका रूपमा अभियोजन गरिएको छ । उनीविरुद्ध पनि मुख्य अभियुक्तसरह सजाय तथा बिगो असुलको मागदाबी गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

आयोगले अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ । मुद्दाको अन्तिम फैसला भने अदालतको निर्णयपछि मात्र हुनेछ ।