जनकपुरधाम, १८ भदौ । धनुषामा प्रहरीले झाडीमा लुकाएर राखिएको ठूलो परिमाणको अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

नगराइन नगरपालिका–५ स्थित खिरखिरिया जाने भित्री सडकको छेउमा रहेको झाडीबाट प्रहरीले १०७ किलो ९९८ ग्राम गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार राति करिब २ः३० बजे उक्त क्षेत्रमा गाँजा लुकाएर राखिएको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लग्माजटहीबाट प्रहरी टोली परिचालन गरिएको थियो ।

प्रहरी टोलीले घटनास्थलमा खोजतलास गर्दा प्लास्टिकमा बेरिएका नौ वटा पोका गाँजा फेला पारेको थियो । बरामद गरिएको गाँजालाई इलाका प्रहरी कार्यालय लग्माजटहीमा ल्याएर तौल गर्दा प्लास्टिकसहित १०९ किलो रहेको थियो ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई प्लास्टिक हटाएर पुनः तौल गर्दा गाँजाको वास्तविक तौल १०७ किलो ९९८ ग्राम रहेको प्रहरीले जनाएको छ ।

बरामद गाँजा जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । घटनामा संलग्न व्यक्तिको पहिचान तथा गाँजा कहाँबाट ल्याइएको र कसका लागि लुकाएर राखिएको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रहरीले अवैध लागूऔषधको ओसारपसार तथा कारोबार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ ।