जनकपुरधाम, १८ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका मधेश प्रदेशका १९२ जनामध्ये ३० जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन् । १६२ जना भने अझै सम्पर्कविहीन रहेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार सम्पर्कविहीन भएकामध्ये ३० जना टेलिफोनमार्फत परिवारको सम्पर्कमा आएका हुन् ।

बाढी तथा पहिरोपछि प्रदेशका विभिन्न जिल्लाबाट नागरिक सम्पर्कविहीन भएको सूचना आएपछि प्रहरीले उनीहरूको खोजी तथा विवरण संकलनलाई तीव्रता दिएको छ ।

प्रहरीका अनुसार सम्पर्कमा आउनेमा पर्साको वीरगञ्ज महानगरपालिकामा बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ र श्याम मोक्तान, बाराको कलैया उपमहानगरपालिका–२२ का सत्यम राम तथा स्वर्ण गाउँपालिका–३ का रुपेश गुप्ता रहेका छन् ।

त्यस्तै, रौतहटको गढीमाई नगरपालिका–७ का मोविदा खातुन, सकिना खातुन र सलमान अन्सारी तथा ईशनाथ नगरपालिका–४ का सेख मजिद पनि सम्पर्कमा आएका छन् ।

चन्द्रपुर नगरपालिकाका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवालसमेत परिवारको सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका–१ का वृजकिशोर दास र सुनिता दास तथा बागमती नगरपालिका–६ का दिपेश थापा पनि सम्पर्कमा आएका छन् ।

महोत्तरीको जलेश्वर नगरपालिका–१ का राकेशकुमार यादव, विपीनकुमार मण्डल, श्रीकेश यादव, लोहारपट्टी गाउँपालिकाका युवराज पाण्डे, औरही गाउँपालिका–९ का सचिनकुमार यादव, गौशाला नगरपालिका–६ का आदित्यनारायण यादव र बर्दिबास नगरपालिकाका विकास भारती सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

धनुषाको सबैला नगरपालिकाका लक्ष्मण मेहता, हंसपुर नगरपालिकाका दयावतीदेवी यादव, विजयकुमार यादव र सुरेश पजियार तथा जनकपुरधाम उपमहानगरपालिका–४ का रीतिक झा र विक्रम ठाकुर पनि सम्पर्कमा आएका छन् ।

जनकपुरधाम–११ का सुशान्त यादव, सिरहाको गोलबजार–१० का टार्जन बलम्पाकी, लहान–४ का उमेश यादव र कञ्चनरुप–८ का अजय मरिक पनि परिवारको सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पछिल्लो विवरणमा मधेशका विभिन्न जिल्लाबाट अझै ठूलो संख्यामा नागरिक सम्पर्कविहीन छन् ।

सप्तरीका ४८, पर्साका ३८, बाराका २३, सर्लाहीका १८, रौतहटका १३, सिरहाका १२, महोत्तरीका १० र धनुषाका सात जना अझै सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ ।

भोटेकोशी बाढी तथा त्यसपछि आएको बाढीपहिरोका कारण परिवार तथा आफन्तसँग सम्पर्क हुन नसकेका नागरिकको खोजीका लागि प्रहरीले विवरण संकलन गरिरहेको छ ।

विभिन्न जिल्लाबाट सम्पर्कविहीन भएका नागरिकबारे सूचना प्राप्त भइरहेकाले विवरण अद्यावधिक गर्ने कामसमेत भइरहेको प्रहरीको भनाइ छ ।

प्रहरीले परिवार तथा आफन्तसँग सम्पर्कविहीन भएका व्यक्तिको विवरण उपलब्ध गराउन र उनीहरू सम्पर्कमा आएमा तत्काल सम्बन्धित प्रहरी कार्यालयलाई जानकारी गराउन आग्रह गरेको छ ।