‘नागरिक आफैं नआउनू, दलालमार्फत सेवा लिनू’ जस्तो अवस्था छः सेवाग्राही
जनकपुरधाम, १८ भदौ । जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीले कार्यालयको सेवा प्रवाह र कर्मचारीको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सेवाग्राही सुधिर यादवले सामाजिक सञ्जालमार्फत कार्यालयमा सेवाग्राहीले सहज रूपमा सेवा पाउने वातावरण अझै बन्न नसकेको गुनासो गरेका हुन् ।
लामो समयपछि यातायात कार्यालय पुगेका यादवले आफूले अपेक्षा गरेअनुसारको सेवा प्रवाह नपाएको उल्लेख गरेका छन् ।
उनले पछिल्लो समय सुशासन र सेवा प्रवाहमा सुधार आएको चर्चा सुने पनि जनकपुरधामको यातायात कार्यालयमा भने त्यसको अनुभूति गर्न नसकेको बताए ।
यादवका अनुसार कार्यालयमा सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारीको व्यवहारमै सुधार आवश्यक देखिएको छ । कर्मचारीहरू सेवाग्राहीसँग सहज रूपमा संवाद गर्न अनिच्छुक देखिने तथा आवश्यक जानकारी लिनसमेत कठिन हुने गरेको उनको गुनासो छ ।
त्यसैगरी, कार्यालयमा सेवाग्राहीका लागि व्यवस्थित सोधपुछ तथा सूचना कक्षको अभाव रहेको यादवले बताए । सेवा लिन आउने नागरिकले प्रक्रिया, आवश्यक कागजात र सम्बन्धित शाखाबारे जानकारी लिनसमेत अन्योल व्यहोर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
कार्यालय परिसरमा कर्मचारीभन्दा बाह्य व्यक्तिहरू तथा बिचौलियाको उपस्थिति बढी देखिने गरेको आरोपसमेत उनले लगाएका छन् ।
एउटा कोठामा कर्मचारीको तुलनामा धेरै बिचौलिया देखिने अवस्था रहेको भन्दै यादवले यस्तो प्रवृत्तिले आम नागरिकलाई प्रत्यक्ष सेवा लिन निरुत्साहित गर्ने गरेको बताए ।
यादवले कर्मचारीहरूले आफू पनि कुनै दिन सेवाग्राही बन्नुपर्ने यथार्थलाई सम्झेर नागरिकसँग व्यवहार गर्नुपर्ने सुझाव दिएका छन् । आफूले सेवा लिन जाँदा भोगेको कठिनाइका आधारमा आम नागरिकले कार्यालयबाट कस्तो समस्या भोगिरहेका होलान् भन्ने प्रश्नसमेत उनले उठाएका छन् ।
उनले यातायात कार्यालयमा सेवाग्राहीले प्रत्यक्ष रूपमा सहज सेवा पाउने वातावरण बनाउनुपर्ने, कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्ने तथा बिचौलियाको प्रभाव नियन्त्रण गर्नुपर्ने माग गरेका छन् ।


