बाढीपीडितका लागि जनकपुरधामबाट जुट्यो ठूलो परिमाणमा राहत सामग्री
जनकपुरधाम, १७ भदौ । भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि जनकपुरधामबाट ठूलो परिमाणमा जुत्ता–चप्पल, लत्ताकपडा, खाद्यान्न, सरसफाइ तथा भान्साका सामग्री संकलन गरिएको छ ।
विभिन्न व्यवसायी, संघसंस्था तथा सहयोगी दाताहरूले उपलब्ध गराएको सामग्री प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका सचिव निरज बिक्रम साहका अनुसार बाढीपीडितको तत्कालीन आवश्यकता पूरा गर्ने उद्देश्यले विभिन्न क्षेत्रबाट सहयोग सामग्री संकलन गरिएको हो ।
संकलित सामग्रीमा जुत्ता तथा चप्पल मात्रै ४ सय ५६ जोरभन्दा बढी रहेका छन् ।
महेश शु सेन्टरले गोल्ड स्टार जुत्ता ५६ जोर र चप्पल २४ जोर, सन्तोष शु सेन्टरले बच्चाको जुत्ता २० जोर तथा अन्य जुत्ता २० जोर, इम्पायर शु सेन्टरले बच्चाका ५४ जोर जुत्ता र गोर्खा शु सेन्टरले २५६ जोर जुत्ता सहयोग गरेको छ ।
रञ्जन शु सेन्टरले पुरुषका ४५ जोर, महिलाका २० जोर जुत्ता तथा १५ थान म्याक्सी उपलब्ध गराएको छ । नेहा शु सेन्टर जनकपुरधाम–१४ बाट थप ५६ जोर जुत्ता–चप्पल सहयोग प्राप्त भएको छ ।
त्यसैगरी, विभिन्न व्यवसायीबाट १ हजार १ सयभन्दा बढी थान लत्ताकपडा संकलन गरिएको छ । स्मार्ट रेडिमेड कलेक्सनबाट १०३, एच–२ कलेक्सनबाट १६२, प्रभास झाबाट ४९, फेसन जोनबाट २३०, फेसन टाइम जनकचोकबाट ३००, बेबक रेडिमेडबाट २०९ तथा युनिक फेसनबाट १०० थान सर्ट सहयोग प्राप्त भएको जनाइएको छ ।
सौन्दर्य कला व्यवसाय संघ धनुषाले बालबालिका तथा महिला पुरुषका विभिन्न कपडासहित टावलसमेत सहयोग गरेको छ । संघले ३२ थान चाइल्ड सर्ट पाइन्ट, १९ थान कुर्ती, ७१ थान कुर्ता, ३६ थान हाफ पाइन्ट, ३६ थान पुरुष इनर पाइन्ट, ९० थान महिलाको इनर गार्मेन्ट र २१ थान टावल उपलब्ध गराएको छ ।
महिलाका लागि १७३ थान साडी समेत संकलन भएको छ । शीला झाले २०, मेघा फुड सप्लिमेन्टले ८ र खुशी फेन्सी वस्त्रालयले १२५ थान साडी सहयोग गरेका छन् ।
खाद्यान्नतर्फ आशिता ब्युटी पार्लरले ३ बोरा मुरही र ८ कार्टुन चाउचाउ, बेबक रेडिमेडले १० प्याकेट मुरही तथा सौन्दर्य कला व्यवसाय संघले १० किलो चिउरा, ८ कार्टुन चाउचाउ र ५ प्याकेट बिस्कुट सहयोग गरेको छ । एक सहयोगी दाताले ४ बोरा चामलसमेत उपलब्ध गराएका छन् ।
बाढीपीडितको स्वास्थ्य तथा सरसफाइलाई ध्यानमा राख्दै फेसन जोनले ३६ पिस हार्पिक, २४ पिस साबुन, १८ पिस फिनायल र १२ पिस ट्वाइलेट ब्रस उपलब्ध गराएको छ । सौन्दर्य कला व्यवसाय संघले २ सय प्याकेट स्यानिटरी प्याड सहयोग गरेको छ ।
त्यस्तै, प्रभावित परिवारका लागि खाना पकाउने तथा खाने सामग्रीसमेत जुटाइएको छ । किट्टु सप्लायर्सले ४५ थान कराही र १२५ थान फ्राइप्यान सहयोग गरेको छ ।
सौन्दर्य कला व्यवसाय संघले ५ थान स्टिल जग, ५ थान लोटा, ४८ थान गिलास, २४ थान चम्चा, ४८ थान थाल तथा ४८–४८ थान ठूलो र सानो कचौरा उपलब्ध गराएको छ ।
सचिव साहले विपद्को कठिन परिस्थितिमा भोटेकोशी बाढीपीडितका लागि सहयोग जुटाउने सम्पूर्ण व्यवसायी, संघसंस्था तथा सहयोगी दाताप्रति आभार व्यक्त गरेका छन् ।
उनले राहत सामग्रीले बाढीबाट प्रभावित परिवारको दैनिक जीवनमा केही सहजता ल्याउने विश्वास व्यक्त गरेका छन् ।













