जनकपुरधाम, १७ भदौ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–६ का मुस्लिम अगुवाहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन् ।

बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि जनकपुरधाम–६ स्थित मस्जिद तथा मदर्सा कमिटीका अध्यक्षसहित कार्यसमिति सदस्य तथा मुस्लिम युवाहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ९३ हजार ५१० रुपैयाँ सहयोग गरेका हुन् ।

मुस्लिम समुदायका अगुवा, कमिटीका पदाधिकारी तथा युवाहरूको सहभागितामा संकलन गरिएको उक्त रकम विपद्पीडितको राहतमा सहयोग पुर्‍याउने उद्देश्यले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलमार्फत कोषमा जम्मा गरिएको स्थानीय युवा जानी खानले बताए ।

प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेका बेला पीडित परिवारलाई राहत उपलब्ध गराउन सहयोग रकम प्रदान गरिएको उनले बताए ।

सामुदायिक एकता, मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बताइएको छ ।