बाढीपीडितका लागि मिथिला नगरपालिकाले ४१ लाख ८८ हजार सहयोग गर्ने
जनकपुरधाम, १७ भदौ । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन धनुषाको मिथिला नगरपालिकाले ४१ लाख ८८ हजार ७८० रुपैयाँ ३ पैसा आर्थिक सहयोग गर्ने भएको छ ।
मिथिला नगरपालिकाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना जनाएको हो ।
नगरपालिकाका अनुसार नेपाल सरकार तथा नगर कार्यपालिकाको निर्णयअनुसार नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय तह विपद् व्यवस्थापन कोष तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीबाट रकम संकलन गरिएको हो ।
संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने नगरपालिकाले जनाएको छ ।
सहयोग रकममध्ये नगर प्रमुख महेन्द्र महतोले ५१ हजार १५१ रुपैयाँ, उपप्रमुखले १९ हजार रुपैयाँ, जनप्रतिनिधिहरूबाट ३ लाख ३३ हजार १६८ रुपैयाँ १० पैसा र स्थानीय तह विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
त्यस्तै, नगरपालिका तथा वडा कार्यालय र स्वास्थ्य क्षेत्रका कर्मचारीबाट ९ लाख ९० हजार ३७४ रुपैयाँ ९३ पैसा तथा सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीबाट १६ लाख ९५ हजार ८६ रुपैयाँ संकलन गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले भोटेकोशी बाढीपहिरोमा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
नगर प्रमुख महेन्द्र महतो र प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवद्वारा जारी विज्ञप्तिमा विपद्को समयमा पीडितहरूको उद्धार, राहत र पुनर्स्थापनामा स्थानीय सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।



