औषधि व्यवसायी संघ धनुषाद्वारा बाढीपीडितका लागि ४ लाख १११ रुपैयाँ सहयोग
जनकपुरधाम, १७ भदौ । नेपाल औषधि व्यवसायी संघ धनुषाले बाढी तथा विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि ४ लाख १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
संघले उक्त रकम धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलमार्फत सम्बन्धित राहत कोषमा बुझाएको हो ।
बाढीका कारण प्रभावित भएका परिवारलाई राहत उपलब्ध गराउने तथा विपद्का बेला आवश्यक मानवीय सहयोग पुर्याउने उद्देश्यले संघले आर्थिक सहयोग गरेको जनाएको छ ।
सहयोग रकम हस्तान्तरण गर्दै संघका प्रतिनिधिहरूले विपद्को कठिन समयमा पीडित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए ।
उनीहरूले राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी लुइँटेलले बाढीपीडितका लागि गरिएको सहयोगप्रति औषधि व्यवसायी संघ धनुषालाई धन्यवाद दिँदै प्राप्त सहयोगलाई पीडितको आवश्यकता र प्राथमिकताका आधारमा सदुपयोग गरिने बताए ।
पछिल्लो समय बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, व्यवसायी तथा सामाजिक क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ ।


