बाढीपीडितका लागि व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष साहद्वारा ८ लाख ५१ हजार सहयोग
जनकपुरधाम, १७ भदौ । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि जनकपुरधाम उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मनोजकुमार साहले ८ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
बाढीका कारण ठूलो जनधनको क्षति भएपछि पीडित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले साहले उक्त रकम सहयोग गरेका हुन् ।
विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व रहेको उनले बताए ।
साहले बाढीबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि समेत थप सहयोग आवश्यक रहेको बताए ।
उनले विपद्मा परेका नागरिकलाई राज्यसँगै निजी क्षेत्र, व्यवसायी तथा आम नागरिकले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिए ।
रसुवामा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि विभिन्न क्षेत्रबाट पीडितका लागि राहत तथा आर्थिक सहयोग जुटाउने क्रम जारी छ ।


