सिरहा, १७ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सिरहा कारागारका कैदीबन्दीहरूले आर्थिक सहयोग गरेका छन् ।

कैदीबन्दीहरूले स्वेच्छाले रकम संकलन गरी बुधबार राष्ट्रिय वाणिज्य बैंक सिरहामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ हजार रुपैयाँ जम्मा गरेका हुन् ।

भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।

विपद्बाट प्रभावित परिवारलाई राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले कैदीबन्दीहरूले आफ्नो तर्फबाट रकम जुटाएका हुन् ।

सिरहा कारागारका कर्मचारी तथा कैदीबन्दीहरूले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सकुशल उद्धारको कामना गरेका छन् ।

कारागार प्रशासक विकल श्रेष्ठले विपद्को समयमा मानवीय सहयोगका लागि रकम उपलब्ध गराउने सम्पूर्ण कैदीबन्दीप्रति धन्यवाद व्यक्त गरेका छन् ।