पिपरामा ४९३ परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण
महोत्तरी, १७ भदौ । महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवामा ४९३ जना जग्गाधनीलाई गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।
बुधबार आयोजित कार्यक्रममा लामो समयदेखि जग्गाधनी प्रमाणपुर्जाको प्रतीक्षामा रहेका स्थानीयलाई सम्बन्धित जग्गाको स्वामित्व प्रमाणित हुने गरी लालपुर्जा वितरण गरिएको हो ।
लालपुर्जा वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जग्गाको स्वामित्वसँग जोडिएको प्रमाणपुर्जा प्राप्त हुनु नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।
उनले वर्षौंदेखि गाउँब्लक जग्गाको स्वामित्व प्रमाणित हुन नसक्दा स्थानीयले भोग्दै आएको समस्या लालपुर्जा वितरणसँगै समाधान हुने विश्वास व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘लालपुर्जा प्राप्त भएपछि नागरिकको जग्गामाथिको कानुनी स्वामित्व थप सुनिश्चित हुन्छ । यसले जग्गाको कारोबार, संरक्षण तथा आगामी पुस्तामा हस्तान्तरण गर्नसमेत सहज बनाउँछ ।’
उनले गाउँब्लक जग्गासम्बन्धी बाँकी समस्या समाधानका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
वास्तविक जग्गाधनीलाई पहिचान गरी प्रक्रिया पूरा गरेर प्रमाणपुर्जा उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।
स्थानीयले लामो समयदेखि उपभोग गर्दै आएको जग्गाको लालपुर्जा प्राप्त भएपछि जग्गाको स्वामित्वसम्बन्धी अन्योल अन्त्य भएको बताए । लालपुर्जा पाएसँगै जग्गा आफ्नो नाममा कानुनी रूपमा कायम भएको अनुभूति भएको उनीहरूको भनाइ छ ।

गाउँब्लक जग्गाको प्रमाणपुर्जा वितरणले स्थानीयको सम्पत्तिमाथिको अधिकारलाई औपचारिक र कानुनी मान्यता प्रदान गर्नुका साथै वर्षौंदेखिको जग्गासम्बन्धी समस्या समाधानतर्फ महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।


