जनकपुरधाम, १७ भदौ । विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री लिएर जनकपुरधामबाट एक टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।

जनकपुरधाम आलु प्याज व्यवसायी संघको पहलमा पेठिया बजारका स्थानीय, व्यापारी तथा नागरिक समाजको सहयोगमा संकलित करिब ५ लाख रुपैयाँ बराबरको राहत सामग्री बाढी प्रभावित परिवारसम्म पुर्याउन टोली प्रस्थान गरेको हो ।

संघका अध्यक्ष सुरज साहका अनुसार राहत सामग्रीमा १०७ बोरा चामल, ८ बोरा दाल, ११ बोरा आलु, ७ बोरा च्युरा, २७ बोरा मुरही, ८ बोरा नुन र ८ बोरा सोयाबडी रहेका छन् ।

बाढीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न सामग्री संकलन गरी प्रभावित क्षेत्रमा पुर्याउन लागिएको अध्यक्ष साहले बताए । टोलीले सम्बन्धित क्षेत्रमा पुगेर स्थानीय आवश्यकताका आधारमा राहत सामग्री वितरण गर्ने जनाएको छ ।

राहत सामग्रीसहित जनकपुरधामबाट प्रस्थान गरेको टोलीलाई जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीसहितको टोलीले विदाइ गरेको थियो ।

कार्यक्रममा अध्यक्ष भण्डारीले विपद्को कठिन समयमा पीडित परिवारसम्म राहत पुर्याउने अभियान प्रशंसनीय रहेको बताए । उनले विपद्का बेला निजी क्षेत्र, व्यापारी तथा नागरिक समाजले देखाएको सहयोगी भावना महत्वपूर्ण रहेको उल्लेख गरे ।

राहत सामग्री बोकेको टोली प्रभावित क्षेत्रमा पुगेपछि स्थानीय अवस्था र आवश्यकताको पहिचान गरी सामग्री वितरण गर्ने जनाएको छ ।