पूर्वसांसद साहका ८८ वर्षीय बुबा मृत फेला
रौतहट, १७ भदौ । रौतहट क्षेत्र नम्बर–२ का पूर्वसांसद किरण साहका बुबा हजारी साह तेली आफ्नै घरमा मृत फेला परेका छन् ।
राजपुर नगरपालिका–५ निवासी ८८ वर्षीय साह बुधबार बिहान घरमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार बिहान करिब ६ बजे घटनाबारे इलाका प्रहरी कार्यालय राजपुरमा सूचना पुगेको थियो । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।
साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ । मृत्युको कारण भने पोस्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


