किसानको पैसा उठाएर वडाध्यक्ष सम्पर्कविहीन
सिरहा, १७ भदौ । सिरहाको मिर्चैया नगरपालिका–११ सीतापुरका वडाध्यक्ष चन्द्रदिप कुमार यादवले किसानलाई सिँचाइका लागि बोरिङ जडान गरिदिने भन्दै रकम असुलेर सम्पर्कविहीन भएको आरोप लागेको छ ।
स्थानीयका अनुसार वडाध्यक्ष यादवले आफ्नै वडाका दर्जनौँ किसानबाट जनही १५ हजार रुपैयाँका दरले रकम संकलन गरेका थिए । बोरिङ जडानका लागि सरकारबाट योजना आएको र इच्छुक किसानले जडान तथा गाड्ने खर्चबापत रकम बुझाउनुपर्ने भन्दै घरघरमै पुगेर रकम उठाइएको पीडित किसानहरूको भनाइ छ ।
स्थानीय ६५ वर्षीय भरत यादवका अनुसार उनले २०८१ फागुनमा बोरिङ जडान गरिदिने भन्दै वडाध्यक्ष यादवलाई १५ हजार रुपैयाँ बुझाएका थिए । तर, रकम बुझाएको लामो समय बितिसक्दा पनि बोरिङ जडान नभएको र रकमसमेत फिर्ता नपाएको उनको गुनासो छ ।
त्यस्तै, ५८ वर्षीय रामाशिष यादव, ३५ वर्षीय जगवीर यादव, चन्देश्वर यादव, वैजनाथ यादवलगायत दर्जनौँ किसानले पनि वडाध्यक्षलाई रकम बुझाएको बताएका छन् । उनीहरूका अनुसार केही किसानको खेतमा बोरिङ जडान भए पनि अधिकांशले न बोरिङ पाएका छन्, न त आफूले बुझाएको रकम फिर्ता पाएका छन् ।
पीडित भरत यादवले वडाध्यक्षकै आग्रहमा आफूहरूले विश्वास गरेर रकम बुझाएको बताए । उनका अनुसार रकम बुझाएपछि केही समय काम हुने आश्वासन दिइए पनि पछि वडाध्यक्ष नै सम्पर्कविहीन बनेका थिए ।
वडा सदस्य मनिकलाल यादवले समेत किसानबाट रकम उठाइएको पुष्टि गर्दै आफूले पनि रकम बुझाउन सहजीकरण गरेको बताए । उनका अनुसार आफूले किसानसँग रकम नलिन सुझाव दिए पनि वडाध्यक्ष यादवले बोरिङ गाड्ने खर्च लाग्ने भन्दै रकम उठाएका थिए ।
मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादवले भने उपभोक्तासँग रकम असुलेर बोरिङ जडान गर्ने नगरपालिकाको कुनै आधिकारिक योजना नरहेको स्पष्ट पारेका छन् । उनले कुनै वडा वा व्यक्तिले त्यस्तो रकम असुलेको भए गलत हुने बताए ।
नगर प्रमुख यादवले बोरिङका नाममा रकम उठाइएकोबारे आफूले पनि सुनेको तर नगरपालिकामा अहिलेसम्म यससम्बन्धी औपचारिक उजुरी नपरेको बताए । पीडितहरूले नगरपालिकामा निवेदन दिए छानबिन गरिने उनको भनाइ छ ।
यता, वडाध्यक्ष यादव करिब दुई वर्षदेखि नियमित रूपमा वडा कार्यालयमा उपस्थित नभएको वडा कार्यालयले जनाएको छ । निमित्त वडाध्यक्ष झगरु माझीका अनुसार यादव कहिलेकाहीँ सम्पर्कमा आउने गरे पनि लामो समयदेखि कार्यालयमा नियमित बसेका छैनन् ।
माझीका अनुसार आफूले २०८२ मंसिरदेखि चैतसम्म र पुनः २०८३ साउन ४ गतेदेखि हालसम्म कार्यवाहक वडाध्यक्षका रूपमा जिम्मेवारी सम्हालिरहेका छन् । वडा सदस्य मनिकलाल यादवले पनि आफूले करिब आठ महिना कार्यवाहकको जिम्मेवारी सम्हालेको बताए ।
वडाध्यक्ष यादवले भने किसानसँग रकम लिएको स्वीकार गरेका छन् । तर, आफूले रकम व्यक्तिगत प्रयोजनका लागि नलिएको दाबी गर्दै एउटा गैरसरकारी संस्थासँग जोडिएको विषयका कारण समस्या भएको बताएका छन् । उक्त संस्थाका जिम्मेवार व्यक्तिसँग कुराकानी भइरहेको र छिट्टै समस्या समाधान हुने उनको भनाइ छ ।
फोनमार्फत प्रतिक्रिया दिँदै यादवले आफू फरार नभएको दाबी गरेका छन् । उनले आफू काठमाडौंमा उपचार गराइरहेको र यही साताभित्र फर्किने बताए ।
तर, वडाध्यक्ष यादवकै हस्ताक्षर रहेको कार्यवाहक वडा अध्यक्ष तोकिएको पत्रमा भने ‘कामकाजका लागि बाहिर देश जानुपर्ने’ भएकाले २०८३ साउन ४ गतेदेखि आफू नआउँदासम्म वडाको प्रशासनिक काम, योजना सञ्चालन तथा सम्पन्न कार्य, बजेट र आर्थिक कारोबारसम्बन्धी सम्पूर्ण जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई दिइएको उल्लेख छ ।
किसानसँग बोरिङ जडानका नाममा उठाइएको भनिएको रकम, बोरिङ जडानको वास्तविक अवस्था तथा रकम उठाउने प्रक्रियाबारे सम्बन्धित निकायबाट थप छानबिन हुन बाँकी छ ।


