जनकपुरधाम, १६ भदौ । सुनचाँदी धितो राखी नगद सापटी दिने भन्दै सर्वसाधारणबाट सुनचाँदी लिएर ठगी गरेको आरोपमा फरार रहेका एक व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सबैला नगरपालिका–६ का करिब ४० वर्षीय प्रदिप साह सोनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनलाई जनकपुरधाम उपमहानगरपालिका–४ स्थित अदालत रोडबाट पक्राउ गरिएको हो ।

विभिन्न स्थानका १७० जना पीडितले संयुक्त जाहेरी दिएपछि साह र उनकी श्रीमती रामतोला देवी साहविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दर्ता भएको थियो ।

प्रहरीले रामतोला देवी साहलाई यसअघि नै भदौ २ गते पक्राउ गरी धनुषा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनापछि फरार रहेका प्रदिप साह सोनारको खोजी गर्ने क्रममा प्रहरीले उनलाई भदौ १५ गते नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका साहलाई अदालतबाट मिलान म्याद लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार पीडितहरूले सुनचाँदी धितो राखी नगद सापटी दिने भन्दै आफ्नो सुनचाँदी लिइएको तर रकम तथा सुनचाँदी फिर्ता नदिएको आरोप लगाएका छन् ।