विपद्पीडितका लागि राहत जुटाउँदै मधेश सरकार
जनकपुरधाम, १६ भदौ । मधेश प्रदेश सरकारले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश सरकारले प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा ७ सय सेट टेन्ट र ७ हजार थान कम्बल उपलब्ध गराउने निर्णय गरेको हो ।
बाढीबाट प्रभावित नागरिकलाई तत्काल आश्रय तथा चिसोबाट जोगाउन आवश्यक सामग्री उपलब्ध गराउने गरी प्रदेश सरकारले राहत व्यवस्थापन अघि बढाएको जनाएको छ ।
यसैगरी, बाढी तथा विपद्का कारण ज्यान गुमाएका मधेश प्रदेशका नागरिकका परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णयसमेत गरिएको छ ।
विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रदेश सरकारले राहत सामग्री र आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रदेश सरकारले प्रभावित क्षेत्रको आवश्यकताअनुसार राहत वितरणलाई थप प्रभावकारी बनाउने जनाएको छ ।


