विभिन्न मुद्दाका ५ फरार प्रतिवादी पक्राउ
जनकपुरधाम, १६ भदौ । जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरी टोलीले खोजतलास गरी उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा जालसाजी मुद्दामा १२ हजार ५ सय रुपैयाँ जरिवाना, कर्तव्य ज्यान मुद्दामा ३ वर्ष कैद, कुटपिट मुद्दामा १२६ रुपैयाँ ५० पैसा जरिवाना र अर्को कुटपिट मुद्दाका फरार प्रतिवादी रहेका छन् ।
त्यस्तै, आगलागी मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका एक जना प्रतिवादीसमेत पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनीहरूलाई मंगलबार पक्राउ गरी अदालतमा बुझाइएको हो ।
प्रहरीले अदालतबाट सजाय तोकिएपछि फरार रहेका अन्य प्रतिवादीको समेत खोजी तथा पक्राउ अभियान जारी रहेको जनाएको छ ।


