जनकपुरधाम, १६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत व्यवस्थापनका लागि मटिहानी नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैठकले प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले राहत कोषमा रकम उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

बैठकले बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा उपचार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

यसैबीच, रसुवा भोटेकोशी बाढीपछि सम्पर्कविहीन रहेका मटिहानी नगरपालिका–७ का ४० वर्षीय गंगाराम मण्डलको तत्काल खोजी तथा उद्धार गर्न सम्बन्धित निकायसँग नगर कार्यपालिकाले आग्रह गरेको छ ।

नगरपालिकाले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको खोजी, उद्धार र राहतलाई प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेको छ ।