जनकपुरधाम, १६ भदौ । धनुषाको जनकनन्दिनी गाउँपालिका–३ प्रखे महुवास्थित ओम शान्ति सपिङ सेन्टरले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि १ लाख ५० हजार रुपैयाँ बराबरको रेडिमेड कपडा सहयोग गरेको छ ।

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितलाई राहत पुगोस् भन्ने उद्देश्यले कपडा सहयोग गरिएको सपिङ सेन्टरका सञ्चालक गणेश गुप्ताले बताए ।

सपिङ सेन्टरले बालबालिकादेखि वयस्कसम्मका लागि प्रयोग गर्न मिल्ने विभिन्न प्रकारका नयाँ रेडिमेड कपडा संकलन गरेको हो ।

कुल १९७ थान कपडा मंगलबार धनुषा क्षेत्र नम्बर २ का पूर्वमन्त्री उमाशंकर अरगरियामार्फत संघीय सरकारलाई हस्तान्तरण गरिएको थियो ।

सञ्चालक गुप्ताले विपद्मा परेका परिवारलाई आफ्नो तर्फबाट सानो भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

उनले संकलित राहत सामग्री वास्तविक बाढीपीडितसम्म प्रभावकारी रूपमा पुर्‍याउन आग्रह गरे ।

राहत सामग्री बुझ्दै पूर्वमन्त्री अरगरियाले विपद्को समयमा निजी क्षेत्र तथा स्थानीयस्तरबाट गरिएको सहयोगले प्रभावित परिवारलाई राहत पुग्ने बताए ।

उनले बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा निवर्तमान उपाध्यक्ष मनिष रमन साह, कोषाध्यक्ष परमेश्वर साह, लेखा अध्यक्ष ओमप्रकाश कर्णलगायतको उपस्थिति थियो ।

ओम शान्ति सपिङ सेन्टरबाट प्राप्त १९७ थान कपडा जनकपुरधाम उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरिएको जनाइएको छ ।