रौतहट, १६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटस्थित पर्यटन विकास कार्यालयका तत्कालीन निमित्त प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले पर्यटन विकास कार्यालय गौरका तत्कालीन निमित्त प्रमुख राजेश काफ्ले, इन्जिनियर सुदीप प्रकाश तिमल्सेना र नितिशकुमार पटेलसहित पाँच जनालाई प्रतिवादी बनाएर मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार रौतहटको परोहा नगरपालिका–९ स्थित राधाकृष्ण मन्दिरको थप मर्मत तथा निर्माण कार्यमा तोकिएको मापदण्ड पालना नगरी न्यून गुणस्तरको काम गरिएको र त्यस क्रममा अनियमितता भएको उजुरी परेको थियो ।

उजुरीमाथि अनुसन्धान गर्दा आर्थिक वर्ष २०८१/८२ मा मन्दिर निर्माण तथा मर्मतका क्रममा अनियमितता भएको पाइएको आयोगले जनाएको छ ।

निर्माण कार्यमा संलग्न पदाधिकारी तथा उपभोक्ता समितिका जिम्मेवार व्यक्तिहरूको भूमिकासमेत अनुसन्धानबाट देखिएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगको भनाइ छ ।

मुद्दामा काफ्ले, इन्जिनियरद्वय तिमल्सेना र पटेलसँगै अधुरो शिवनाथ भवन निर्माण, भैरवनाथ मन्दिर निर्माण तथा राधाकृष्ण मन्दिरको अधुरो निर्माण कार्यसँग सम्बन्धित उपभोक्ता समितिका अध्यक्ष खहेरु साह तेली र कोषाध्यक्ष कुन्ती देवीलाई पनि प्रतिवादी बनाइएको छ ।

आयोगले सार्वजनिक निर्माणमा तोकिएको मापदण्ड तथा गुणस्तरविपरीत काम गरी राज्यको स्रोतको दुरुपयोग गरेको आरोपमा उनीहरूविरुद्ध कानुनी कारबाही अघि बढाएको हो ।