जनकपुरधाम, १६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि मधेश प्रदेशमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले १५ दिन बराबरको तलब सहयोग गर्ने भएको छ ।

संसदीय दलमा आबद्ध प्रदेशसभा सदस्य, उनीहरूका स्वकीय सचिव तथा सचिवालयमा कार्यरत कर्मचारीको १५ दिनको तलब कट्टा गरी बाढीपीडितको राहतका लागि उपलब्ध गराउने निर्णय गरिएको हो ।

नेकपा संसदीय दलका नेता युवराज भट्टराईले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै सांसद, स्वकीय सचिव तथा कर्मचारीको १५ दिनको तलब कट्टा गरी तोकिएको बैंक खातामा जम्मा गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

रसुवामा आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएकाले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएको भन्दै संसदीय दलले यस्तो निर्णय गरेको हो ।

भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि मधेस प्रदेशबाट पछिल्लो समय सहयोग जुट्ने क्रम बढेको छ ।

विभिन्न व्यक्ति, संस्था, व्यवसायी तथा सामाजिक संघसंस्थाले समेत आर्थिक तथा जिन्सी सहयोग उपलब्ध गराउँदै आएका छन् ।