जनकपुरधाम, १५ भदौ । भोटेकोशीमा आएको विनाशकारी बाढी र पहिरोपछि धनुषाका ३० वर्षीय इन्जिनियर अजयकुमार सिंह सम्पर्कविहीन भएको ६ दिन बितिसकेको छ । तर, उनका लागि यो सामान्य ६ दिन रहेन । श्रीमानको कुनै खबर नआएपछि पत्नी पूजा साहका लागि बितेका प्रत्येक दिन वर्षौंजस्तै भारी बनेका छन् ।

घरको मूल आधार नै हराएजस्तो भएको छ । आफन्त र छिमेकीहरू निरन्तर घरमा आउँछन् । उनीहरूको उपस्थितिले केही क्षण आशा जगाउँछ । ढोकामा कसैको पाइला सुनिनासाथ पूजाको मनमा एउटै प्रश्न उठ्छ—‘अजयको खबर आयो कि?’

तर, अहिलेसम्म हरेक पटक निराशा मात्रै हात लागेको छ । अजय धनुषाको कमला नगरपालिकाका बासिन्दा हुन् । उनी डोसान हाइड्रोपावरअन्तर्गतको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा इन्जिनियरका रूपमा कार्यरत थिए ।

भदौ १० गते बुधबार भोटेकोशीमा आएको भीषण बाढीले आयोजनाको कार्यस्थल र कर्मचारी बस्ने क्याम्प प्रभावित बनाएपछि उनी सम्पर्कविहीन भएका हुन् ।

अन्तिम पटक बिहान ८ः३९ बजे कुरा
अजयसँग उनकी पत्नी पूजाको अन्तिम कुराकानी भदौ १० गते बिहान ८ः३९ बजे भएको थियो ।

त्यस समय अजय क्याम्पमै थिए । खाजा खाँदै गर्दा उनले श्रीमतीसँग फोनमा कुराकानी गरेका थिए । सामान्यजस्तै भएको त्यो फोन संवाद नै उनीहरूबीचको अन्तिम सम्पर्क बन्न पुग्यो भन्ने पूजाले त्यतिबेला कल्पनासमेत गरेकी थिइनन् । त्यसपछि फोन सम्पर्क हुन सकेन ।

बाढीले आयोजनास्थलमा ठूलो क्षति पुर्‍याएको खबर फैलिएसँगै पूजाको चिन्ता बढ्दै गयो । श्रीमानसँग सम्पर्क हुन नसकेपछि उनले अजयका सहकर्मी र सम्बन्धित पक्षसँग जानकारी लिन प्रयास गरिन् । तर, स्पष्ट र आधिकारिक सूचना पाउन नसक्दा उनको अन्योल झन् बढेको छ ।

आयोजनास्थलमा कार्यरत अन्य कर्मचारी तथा कामदारसमेत बाढीपछि सम्पर्कविहीन भएको जानकारी परिवारले पाएको छ । अजय सुरुङभित्र फसेको हुनसक्ने अनुमान पनि गरिएको छ । तर, अन्तिम फोन संवादका आधारमा उनी क्याम्पमै रहेको पूजाको बुझाइ छ ।

‘उहाँ कहाँ हुनुहुन्छ, केही त जानकारी देऊ’
अजयको अवस्थाबारे अहिलेसम्म यकिन जानकारी नआउँदा परिवार पीडामा छ । विशेषगरी कम्पनीबाट कर्मचारीहरूको अवस्थाबारे स्पष्ट विवरण उपलब्ध हुन नसकेको भन्दै पूजाले गुनासो गरेकी छन् ।

उद्धार प्रक्रिया र त्यसका लागि भइरहेको पहलसमेत पर्याप्त नभएको उनको आरोप छ ।

सम्बन्धित निकायबाट एकअर्कालाई देखाएर पन्छिने अवस्था देखिँदा आफूहरू झन् असहाय बनेको उनको भनाइ छ ।

श्रीमानको अवस्थाबारे यकिन जानकारी पाउनु र सकुशल भए उद्धार गरेर घर फर्काउनु परिवारको अहिलेको एउटै माग हो ।

‘कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ भन्ने मात्रै थाहा पाउन पाए हुन्थ्यो,’ पूजाको पीडामा उनको निरन्तर प्रतीक्षा झल्किन्छ ।

दिन बित्दै जाँदा उनको आशा भने अझै मरेको छैन । अजय जीवितै फर्किने विश्वासमा उनी निरन्तर प्रार्थना गरिरहेकी छन् ।

सानो छोरीलाई बाबुको प्रतीक्षा
अजय र पूजाको विवाह भएको करिब एक वर्ष मात्रै भएको छ । उनीहरूको एक महिनाकी छोरी छिन् ।

बाबुको अनुहार राम्ररी चिन्न नपाउँदै ती शिशुकी आमाले अहिले श्रीमानको प्रतीक्षा गरिरहेकी छन् ।

परिवारका लागि अजयको बेपत्ता अवस्था एक व्यक्तिको खोजीको विषय माय्र नभई भर्खरै सुरु भएको एउटा परिवारको भविष्यसँग जोडिएको पीडा बनेको छ ।

पूजाको दिन श्रीमानको खबर पर्खंदै बित्छ । फोन बज्दा उनी झस्किन्छिन् । अपरिचित नम्बरबाट फोन आउँदा पनि मनमा आशा पलाउँछ । तर, अहिलेसम्म आएको कुनै फोनले अजयको खबर ल्याउन सकेको छैन ।

घरमा आउने आफन्तले ‘धैर्य गर्नुस्, सबै ठीक हुन्छ’ भनेर सान्त्वना दिन्छन् । तर, पूजाका लागि प्रत्येक घण्टा थप कठिन बन्दै गएको छ ।

आशा अझै जीवित छ
भोटेकोशीको बाढीले थुप्रै परिवारलाई शोकमा डुबाएको छ । कतिपयले आफन्त गुमाइसकेका छन् भने धेरै परिवार अझै बेपत्ता आफन्तको खोजीमा छन् । अजयको परिवार पनि यही पीडादायी प्रतीक्षाको पंक्तिमा छ ।

समय बित्दै जाँदा परिवारमा चिन्ता बढेको छ । तर, अजयको कुनै आधिकारिक पुष्टि नभएकाले पूजाले आशा छाडेकी छैनन् ।

उनको एउटै प्रार्थना छ—जहाँ भए पनि श्रीमान् सुरक्षित होऊन् र एकपटक फोन गरेर आफ्नो अवस्था सुनाऊन् ।

‘अब धेरै केही चाहिँदैन, उहाँको आवाज मात्रै सुन्न पाए हुन्थ्यो,’ भन्ने पूजाको चाहना अहिले उनको जीवनको सबैभन्दा ठूलो आशा बनेको छ ।

भोटेकोशीको बाढीपछि सुरु भएको अजयको खोजी कहिले टुंगिन्छ भन्ने अझै निश्चित छैन । तर, एक महिनाकी छोरीलाई काखमा च्यापेर बसेकी पूजा भने श्रीमान् फर्किने बाटो हेर्दैछिन् ।

उनका लागि बाढी गएको दिनदेखि समय रोकिएको छ । पात्रोमा ६ दिन बितिसकेको भए पनि उनको मनमा त्यो अवधि ६ वर्षभन्दा लामो बनेको छ ।