पुस्तकालय दिवसमा पठन संस्कृतिको विकासमा जोड
जनकपुरधाम, १५ भदौ । १९औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा सोमबार जनकपुरधाममा ‘पठन संस्कृतिको विकास’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
‘बाल, युवा र वृद्ध, पुस्तकालय सबैको गन्तव्य’ भन्ने नारासहित आयोजित कार्यक्रममा पुस्तकालयलाई ज्ञान, अनुसन्धान, साहित्य तथा बौद्धिक गतिविधिको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन् ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा क्षेत्रका व्यक्तित्व, साहित्यकार, लेखक तथा जनकपुरधामका प्रबुद्ध व्यक्तिहरूको सहभागिता थियो ।
कार्यक्रम विद्यापति पुस्तकालय अध्ययन तथा अनुसन्धान केन्द्रको समन्वय तथा मैथिली विकास कोषको आयोजनामा भएको हो ।
कार्यक्रममा सहभागीहरूले प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तक पढ्ने बानीमा कमी हुँदै गएको भन्दै बालबालिका तथा युवामा अध्ययन र पठन संस्कृतिको विकास गर्न पुस्तकालयलाई थप व्यवस्थित, आकर्षक र प्रविधिमैत्री बनाउनुपर्ने धारणा राखेका थिए ।
पुस्तकालयलाई पुस्तक संग्रह गर्ने स्थानमा मात्र सीमित नराखी ज्ञान, अध्ययन, अनुसन्धान र सिर्जनात्मक गतिविधिको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा समेत वक्ताहरूले जोड दिएका थिए ।
अन्तरक्रियामा पुस्तकालयको पहुँच विस्तार, नियमित पठन संस्कृतिको विकास तथा नयाँ पुस्तालाई पुस्तकालयतर्फ आकर्षित गर्ने उपायबारे छलफल गरिएको थियो ।
सहभागीहरूले स्थानीय तह, शैक्षिक संस्था, साहित्यिक संघसंस्था तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए ।




























