बाढीपीडितका लागि जानकी हेल्थकेयरद्वारा ५ लाख ५१ हजार सहयोग
जनकपुरधाम, १५ भदौ । बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि जनकपुरधामस्थित जानकी हेल्थकेयरले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
जानकी हेल्थकेयर जनकपुरधाम परिवारले बाढी तथा विपद्बाट प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको हो ।
सहयोग रकम जम्मा गरिएको भौचर जानकी हेल्थकेयर परिवारका तर्फबाट धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललाई हस्तान्तरण गरिएको जनाइएको छ ।
प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेका बेला पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले उक्त सहयोग गरेको हो ।
जानकी हेल्थकेयरले विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ ।


