बाढीपीडितको राहतका लागि अन्नपूर्णा स्कुलद्वारा एक लाख सहयोग
जनकपुरधाइ, १५ भदौ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले जनकपुरधामस्थित अन्नपूर्णा माध्यमिक आवासीय विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गरेको छ ।
विद्यालयले बाढीका कारण ठूलो जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गर्दै विपद्को यस कठिन समयमा पीडित परिवार तथा समुदायसँग ऐक्यबद्धता जनाएको हो ।
विद्यालयले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्दै बाढी प्रभावित परिवारको सुरक्षा, उद्धार तथा राहतका लागि प्रार्थना गरेको जनाएको छ ।
विद्यालयका तर्फबाट जारी सन्देशमा विपद्को समयमा सबै मिलेर प्रभावित समुदायलाई सहयोग गर्नुपर्नेमा जोड दिँदै सुरक्षित नेपाल निर्माणका लागि सामूहिक एकताको आवश्यकता औँल्याइएको छ ।
विद्यालयले बाढीबाट प्रभावित सबै परिवारप्रति सहानुभूति व्यक्त गर्दै प्रभावित समुदायलाई राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक सहयोग निरन्तर रहोस् भन्ने कामना गरेको छ ।


