जनकपुरधाम, १५ भदौ । मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रदेश प्रमुख कार्यालय जनकपुरधामले सोमबार जारी गरेको विज्ञप्तिअनुसार प्रदेश प्रमुख कर्णले आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका हुन् ।

गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै प्रदेश प्रमुख कर्णले विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत वितरण तथा विस्थापितको पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले पारिश्रमिक सहयोग गर्न लागिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता सञ्जीपकुमार दुब्बेद्वारा जारी विज्ञप्तिमा प्रदेश प्रमुख कर्णको उक्त सहयोगले विपद्को समयमा पीडित नागरिकप्रति ऐक्यबद्धता र मानवीय सहयोगको सन्देश दिने विश्वास व्यक्त गरिएको छ ।