अस्पतालबाट नवजात शिशु चोरी गर्ने महिला प्रहरीको फन्दामा
पर्सा, १५ भदौ । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एकदिने नवजात शिशु प्रहरीले १६ घण्टामै सकुशल फेला पारेको छ ।
प्रहरीले शिशु चोरीमा संलग्न रहेको आरोपमा एक महिलालाई समेत पक्राउ गरेको जनाएको छ ।
अस्पतालबाट आइतबार राति नवजात शिशु चोरी भएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो ।
रातभर सञ्चालन गरिएको खोजी अभियानका क्रममा वीरगन्ज महानगरपालिका–१६ इनर्वाबाट शिशुसहित एक महिलालाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा इनर्वा निवासी सबिना खातुन रहेकी छन् ।
उनको साथबाट फेला परेको नवजात शिशुलाई प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।
सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वाकी रिन्कु देवीले शनिबार राति करिब ११ बजे शल्यक्रियामार्फत शिशुलाई जन्म दिएकी थिइन् ।
अस्पतालमै रहेकी शिशुकी हजुरआमासँग एक महिलाले ‘बच्चा खेलाउँछु’ भन्दै शिशु मागेकी थिइन् ।
हजुरआमाले शिशु ती महिलालाई दिएपछि उनी बच्चासहित अस्पतालबाट बाहिरिएकी थिइन् । त्यसपछि परिवारले शिशु हराएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको सूचना पाएलगत्तै पर्सा प्रहरीले विभिन्न स्थानमा खोजी तथा निगरानी बढाएको थियो । प्रहरीको सक्रियतामा शिशु चोरी भएको करिब १६ घण्टामै फेला परेको हो ।
पक्राउ परेकी महिलालाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
घटनामा उनको संलग्नताको प्रकृति र शिशु चोरी गर्नुको कारणबारे अनुसन्धान भइरहेको छ ।


