रसुवा बाढीपीडितका लागि जनकपुरधामबाट राहत जुट्दै, एसएम स्पोर्ट्सद्वारा करिब ४ लाख बराबरको कपडा सहयोग
जनकपुरधाम, १५ भदौ । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाका पीडितका लागि जनकपुरधामबाट राहत सामग्री संकलन अभियान तीव्र पारिएको छ ।
यसैक्रममा एसएम स्पोर्ट्सले करिब ४ लाख रुपैयाँ बराबरको कपडा सहयोग गरेको छ ।
एसएम स्पोर्ट्सले उपलब्ध गराएको राहत सामग्री जनकपुरधाम उद्योग वाणिज्य संघमार्फत राहत व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।
एसएम स्पोर्ट्सले बाढीपीडितका लागि विभिन्न प्रकारका गरी ४१८ थान/सेट कपडा उपलब्ध गराएको छ ।
जसमा ६४ सेट ट्रेकसुट, २८ सेट ट्राउजर–भेस्ट, ७४ सेट हाफप्यान्ट–भेस्ट, ३३ थान निभिया ट्राउजर, १७८ थान आईपीएल भेस्ट र ४१ थान विन्डचिटर रहेका छन् ।
त्यस्तै, च्वाइस टेलर्सका सञ्चालक असगर खानले ६५ थान तयारी सर्ट–पाइन्ट तथा बन्डी र ६ थान ट्रेकसुट समेत जनकपुरधाम उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेका छन् ।
भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा राहत पुर्याउन जनकपुरधाम उद्योग वाणिज्य संघले राहत संकलन अभियान सञ्चालन गरिरहेको छ ।
संघले पीडितका लागि आवश्यक खाद्यान्न, कपडा तथा अन्य राहत सामग्री संकलन गरी सम्बन्धित क्षेत्रमा पठाउने तयारी गरेको जनाएको छ ।
राहत संकलनलाई व्यवस्थित बनाउन संघले आइतबार संघका निवर्तमान अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा संरक्षण, सल्लाहकारलगायत ९ सदस्यीय समिति गठन गरेको थियो ।
संघका अध्यक्ष सुरेन्द्र भण्डारीका अनुसार गठित समितिले जनकपुरधामबाट बाढीपीडितका लागि आवश्यक राहत सामग्री संकलन तथा व्यवस्थापनको काम गर्नेछ ।

उनले विपद्को यस कठिन घडीमा जनकपुरधामका उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।
संघले संकलन हुने राहत सामग्रीलाई आवश्यकता र प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा पुर्याउने जनाएको छ ।
पछिल्लो विपद्ले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएकाले राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको संघको भनाइ छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघले इच्छुक व्यक्ति, व्यवसायी तथा संघसंस्थालाई राहत अभियानमा जोडिएर बाढीपीडितलाई सहयोग गर्नसमेत आह्वान गरेको छ ।


