महोत्तरी, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारमा रहेका कैदीबन्दीहरूले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहतका लागि आर्थिक सहयोग गरेका छन् ।

कारागारमा रहेका ४ सय ५५ जना कैदीबन्दीले आपसमा चन्दा संकलन गरी १ लाख १ हजार १ सय ५ रुपैयाँ प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरेका हुन् ।

विपद्को समयमा पीडित नागरिकलाई आफ्नो तर्फबाट पनि सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ कैदीबन्दीहरूले स्वेच्छाले रकम संकलन गरेको कारागार कार्यालय महोत्तरीले जनाएको छ ।

आफूहरू कारागारभित्र रहे पनि देशमा परेको विपद् र त्यसबाट प्रभावित नागरिकप्रति मानवीय संवेदना प्रकट गर्दै सहयोग जुटाइएको हो ।

कैदीबन्दीहरूले संकलन गरेको रकम सम्बन्धित प्रक्रियामार्फत प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरिएको कारागार प्रशासनले जनाएको छ ।

विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला जलेश्वर कारागारका कैदीबन्दीहरूले गरेको यो सहयोगले मानवीय भावना र सामाजिक उत्तरदायित्वका लागि आर्थिक अवस्था वा परिस्थितिले सीमा नछेक्ने सन्देश दिएको छ ।

बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला कैदीबन्दीहरूको यो योगदान पनि राहत अभियानमा थपिएको छ ।