भोटेकोशी बाढीः मधेशका १६२ जना अझै बेपत्ता, ३० जना परिवारको सम्पर्कमा
जनकपुरधाम, १४ भदौ । रसुवाको भोटेकोशीमा आएको विध्वंशकारी बाढीमा परेर मधेश प्रदेशका विभिन्न जिल्लाका १९२ जना बेपत्ता भएकोमा ३० जना परिवारको सम्पर्कमा आएका छन् । अझै १६२ जनाको अवस्था अज्ञात रहेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी प्रभ प्रसाद ढकालका अनुसार बाढीपछि आफन्तले दिएको खोजतलास निवेदनका आधारमा संकलित विवरणअनुसार सप्तरीका ४९ जना बेपत्ता भएका थिए । तीमध्ये एक जना परिवारको सम्पर्कमा आए पनि ४८ जनाको अवस्था अझै अज्ञात छ ।
सिरहाबाट बेपत्ता भएका १० जनामध्ये दुई जना सम्पर्कमा आएका छन् भने ८ जना अझै सम्पर्कविहीन छन् । धनुषाका १३ जनामध्ये ७ जना परिवारको सम्पर्कमा आएका छन् भने ६ जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, महोत्तरीका १७ जनामध्ये ७ जना सम्पर्कमा आएका छन् भने १० जना अझै बेपत्ता छन् । सर्लाहीबाट बेपत्ता भएका १९ जनामध्ये तीन जना सम्पर्कमा आए पनि १६ जनाको अवस्था अज्ञात छ ।
रौतहटबाट हराएका १९ जनामध्ये तीन जना सम्पर्कमा आएका छन् भने १६ जना अझै बेपत्ता छन् । बाराका २५ जनामध्ये दुई जना सम्पर्कमा आए पनि २३ जनाको अवस्था अज्ञात छ ।
पर्साबाट सम्पर्कविहीन भएका ४० जनामध्ये दुई जना परिवारको सम्पर्कमा आएका छन् भने ३८ जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।
यसैगरी, नेपाल प्रहरीमा कार्यरत मधेसका नौ जनामध्ये छ जना सम्पर्कमा आएका छन् भने तीन जना अझै सम्पर्कविहीन छन् । नेपाली सेनामा कार्यरत तीन जनामध्ये एक जना सम्पर्कमा आए पनि दुई जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।
सम्पर्कविहीनमध्ये अधिकांश जलविद्युत् आयोजनामा कार्यरत रहेको र बाढीका कारण उनीहरू आयोजनाका सुरुङ तथा अन्य संरचनाभित्र फसेको हुनसक्ने आशंका परिवारजनले गरेका छन् ।
रसुवा, धादिङ र नुवाकोटलगायतका क्षेत्रमा रोजगारी, व्यापार तथा व्यवसायका लागि पुगेका मधेसका नागरिक बाढीपछि सम्पर्कमा नआएपछि परिवारजन चिन्तित बनेका छन् ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि आफन्तले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।
प्रहरीले पनि आफ्ना आफन्त हराएको वा सम्पर्कविहीन भएको भए नजिकको प्रहरी युनिट, इलाका प्रहरी कार्यालय वा प्रहरी चौकीमा आवश्यक विवरणसहित निवेदन दिन आग्रह गरेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयले सम्पर्कविहीन व्यक्तिहरूको खोजीका लागि रसुवा, धादिङ, नुवाकोटलगायत बाढी प्रभावित जिल्लाका प्रहरी कार्यालयसँग समन्वय गरी काम भइरहेको जनाएको छ ।
बाढीमा परेकाहरूको यकिन अवस्था पत्ता लगाउन खोजी तथा पहिचानको कामलाई तीव्रता दिनुपर्ने परिवारजनको माग छ ।


