ठगीदेखि संगठित अपराधसम्मका मुद्दामा फरार महतो पक्राउ
महोत्तरी, १४ भदौ । विभिन्न आपराधिक कसुरसम्बन्धी मुद्दामा फरार रहेका महोत्तरीको गौशाला नगरपालिका–१ का ३७ वर्षीय सुरेश कुमार महतो ‘रोशन’लाई प्रहरीले पक्राउ गरेको छ ।
गौशाला नगरपालिका–१ रामनगर निवासी महतोलाई विशेष सूचनाका आधारमा खोजतलास गर्ने क्रममा शनिबार साँझ करिब ७ बजे आफ्नै वडाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
प्रहरीका अनुसार महतोविरुद्ध धनुषा जिल्ला अदालतमा ठगी, लिखत किर्ते, नागरिकतासम्बन्धी कसुर, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनअन्तर्गतको कसुर, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा विचाराधीन छन् ।
विभिन्न मुद्दामा फरार रहेका महतोको खोजीका क्रममा उनी गौशाला नगरपालिका–१ मै रहेको सूचना प्रहरीले प्राप्त गरेको थियो । त्यसपछि परिचालन गरिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका महतोलाई हाल इलाका प्रहरी कार्यालय गौशालामा राखिएको छ । प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरेपछि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माले जानकारी दिए ।
प्रहरीले महतोविरुद्ध रहेका मुद्दा र अदालतको प्रक्रियाअनुसार थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाउने जनाएको छ ।


