जनकपुरधाम, १४ भदौ । जनकपुरधाम उपमहानगरपालिकाको नगर तथा ग्रामीण क्षेत्रमा विद्युत् आपूर्ति बारम्बार अवरुद्ध हुन थालेपछि स्थानीयवासी हैरान भएका छन् ।

एक घण्टामै आठ–दश पटकसम्म विद्युत् ‘ट्रिप’ हुन थालेपछि घरायसी कामदेखि व्यापार व्यवसाय र विद्यार्थीको पढाइसम्म प्रभावित भएको स्थानीयको गुनासो छ ।

स्थानीयका अनुसार जनकपुरधाममा दैनिक २० देखि २५ पटकसम्म विद्युत् आउने–जाने गरेको छ । केही समय विद्युत् आए पनि फेरि तत्कालै लाइन काटिने र पुनः आउने क्रम नरोकिँदा विद्युतीय उपकरणमा समेत समस्या देखिन थालेको उनीहरू बताउँछन् ।

अन्य क्षेत्रमा वर्षा र बाढीको प्रभाव देखिइरहेका बेला जनकपुरधाममा भने चर्को गर्मी कायमै छ । गर्मीको समयमा विद्युत् नियमित नहुँदा पङ्खा, कुलरलगायतका उपकरण सञ्चालन गर्न नपाउँदा घरभित्र बस्नसमेत कठिन हुने गरेको स्थानीयको भनाइ छ ।

विद्युत्को अनियमित आपूर्तिको प्रत्यक्ष असर धान, गहुँ पिस्ने मिल, तोरी पेल्ने मिल, डेरी, होटल तथा मोबाइल र विद्युतीय उपकरण मर्मत गर्ने साना व्यवसायमा परेको छ ।

जनकपुरधामको बजरङ्ग चोकमा मोबाइल मर्मत केन्द्र सञ्चालन गर्दै आएका सन्तोष साहले विद्युत् छिनछिनमै जाने–आउने समस्याले काम गर्न निकै कठिन भएको बताए ।

‘लाइन काट्नु नै छ भने एकैपटक दुई–चार घण्टा काटे पनि कामको व्यवस्थापन गर्न सकिन्छ । तर, १०–१५ मिनेटमै आउने–जाने गर्दा झन् समस्या हुन्छ,’ उनले भने ।

मोबाइल मर्मत गरिरहेका बेला अचानक विद्युत् कटौती हुँदा काम बिग्रिने तथा एउटै उपकरण दोर्होयाएर बनाउनुपर्ने अवस्था आउने साहको भनाइ छ ।

ग्राहकलाई निश्चित समयमा सामान तयार पारेर दिने प्रतिबद्धता जनाए पनि विद्युत् अवरोधका कारण समयमै काम पूरा गर्न नसक्दा ग्राहकको गाली खानुपर्ने अवस्था रहेको उनले बताए ।

अनियमित विद्युत् आपूर्तिको असर विद्यार्थीको पठनपाठनमा समेत परेको अभिभावकहरू बताउँछन् । जनकपुरधाममा गर्मी अत्यधिक भएका कारण विद्यालयमा विद्युत् नहुँदा पङ्खा सञ्चालन हुन नसक्ने र कक्षाकोठामा बस्नै कठिन हुने गरेको उनीहरूको भनाइ छ ।

शिशु प्रज्ञा सदनमा कक्षा ३ मा अध्ययनरत शिवांस कर्णका पिता संजीव कर्णले गर्मीका कारण छोराले विद्यालय जानसमेत आनाकानी गर्न थालेको बताए ।

‘बत्ती गएको बेला कक्षाकोठामा बस्नै नसकिने गरी गर्मी हुँदो रहेछ । विद्यालयमा पनि प्रायः बत्ती गइरहन्छ र पङ्खा चल्दैन । त्यही भएर छोरा स्कुल जान नमान्ने रहेछ,’ उनले भने ।

घरमा समेत गर्मीका बेला पङ्खा चलाएर बस्ने अवस्था नहुँदा बालबालिकालाई थप समस्या हुने उनको भनाइ छ ।

विद्युत् अनियमित हुँदा सबैभन्दा बढी प्रभावित हुने व्यवसायमध्ये डेरी पनि एक हो । जनकपुरधाम–१० स्थित राजीव डेरीले दैनिक ठूलो परिमाणमा दूध तथा दुग्धजन्य पदार्थ बिक्री गर्दै आएको छ ।

डेरी सञ्चालक राजीव यादवका अनुसार दूध, दही, मिठाई, पनिरलगायतका सामग्री सुरक्षित राख्न निरन्तर फ्रिज सञ्चालन गर्नुपर्ने हुन्छ । तर, लामो समयसम्म विद्युत् आपूर्ति बन्द हुँदा सामग्री बिग्रिएर फाल्नुपर्ने अवस्था आउने गरेको उनले बताए ।

‘विद्युत् नियमित नहुँदा कैयौँपटक दूध र दही बिग्रिएर फाल्नुपरेको छ । सामान्य रूपमा केहीबेर लाइन ट्रिप हुँदा खासै समस्या हुँदैन, तर कहिलेकाहीँ घण्टौँसम्म विद्युत् नआउँदा ठूलो नोक्सानी हुन्छ,’ यादवले भने ।

उनले लामो समय विद्युत् आपूर्ति बन्द हुने अवस्था भए प्राधिकरणले पूर्वसूचना दिएर तालिका सार्वजनिक गर्नुपर्ने माग गरे। यसो भए व्यवसायीले आफ्नो कामको व्यवस्थापन गर्न सक्ने उनको भनाइ छ ।

स्थानीयवासीका अनुसार विद्युत् अनियमितताको असर आर्थिक रूपमा कमजोर तथा मध्यम वर्गीय परिवारमा बढी परेको छ । आर्थिक रूपमा सम्पन्न परिवारले इन्भर्टर तथा वैकल्पिक विद्युत् स्रोतको व्यवस्था गरेकाले उनीहरूलाई विद्युत् आपूर्तिको समस्याले तुलनात्मक रूपमा कम असर गर्ने गरेको स्थानीय बताउँछन् ।

तर सामान्य परिवारका लागि विद्युत् नै गर्मीबाट राहत पाउने प्रमुख माध्यम भएकाले विद्युत् अवरुद्ध हुँदा उनीहरू प्रत्यक्ष समस्यामा पर्ने गरेका छन् ।

जनकपुरधाम–९ पिडारी चोकमा होटल सञ्चालन गर्दै आएकी विणा मगरले रातको समयमा विद्युत् नहुँदा बालबालिका सुत्नसमेत नसक्ने बताइन् ।

‘बत्ती जाँदाको पीडा हामीलाई थाहा छ । साना बच्चा छन्, लाइन नहुँदा रातभरि सुत्दैनन् । गर्मीमा पङ्खा नचल्दा निकै समस्या हुन्छ । हाम्रो पीडा कसले सुनिदिने?’ उनले प्रश्न गरिन् ।

उनले विद्युत् आपूर्तिको समस्या समाधान गर्न सम्बन्धित निकायले चासो नदिएको गुनासो गरिन् ।

विद्युत् आपूर्ति छिनछिनमै अवरुद्ध हुन थालेपछि स्थानीयवासीले सामाजिक सञ्जालमार्फत समेत विरोध जनाउन थालेका छन् । केही दिनअघि सामाजिक अभियन्ता सरोज मिश्रले कम भोल्टेजका कारण मुस्किलले चलेको पङ्खाको तस्बिर सामाजिक सञ्जालमा राख्दै विद्युत् प्राधिकरणप्रति व्यङ्ग्य गरेका थिए ।

विद्युत् कहिले जाने हो भन्ने निश्चित नहुने र आएको समयमा समेत पर्याप्त भोल्टेज नहुँदा विद्युतीय उपकरण सञ्चालन गर्न समस्या हुने उनले उल्लेख गरेका थिए ।

पछिल्लो समय स्थानीय युवाहरूले डिजिटल पोस्टर तथा ब्यानरमार्फत विद्युत् आपूर्तिको समस्या समाधान गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियानसमेत सञ्चालन गर्न थालेका छन् ।

जनकपुरधाममा मात्र नभई पछिल्ला केही महिनायता मधेश प्रदेशका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अनियमित भइरहेको गुनासो बढेको छ । विद्युत् आउने–जाने क्रम बढेपछि उद्योग, व्यापार तथा व्यवसायसँगै सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको छ ।

विद्युत् अभावको असर ई–रिक्सा चालक, साना तथा ठूला व्यवसायी, विद्यार्थी, गृहिणी र सञ्चारकर्मीसम्म परेको स्थानीयको भनाइ छ । विशेषगरी गर्मीको समयमा लामो समय विद्युत् नहुँदा सर्वसाधारणको जनजीवन थप कष्टकर बनेको छ ।

स्थानीयवासीले विद्युत् आपूर्ति नियमित बनाउन तथा प्राविधिक समस्या भए त्यसको दीर्घकालीन समाधान खोज्न विद्युत् प्राधिकरण र सम्बन्धित निकायसँग माग गरेका छन् ।

उनीहरूले विद्युत् कटौती गर्नैपर्ने अवस्था भए पूर्वसूचना दिन, कटौतीको स्पष्ट तालिका सार्वजनिक गर्न र छिनछिनमा हुने ‘ट्रिपिङ’ तथा कम भोल्टेजको समस्या तत्काल समाधान गर्न आग्रह गरेका छन् ।

विद्युत् आपूर्तिको अनिश्चितताले दैनिक जीवनदेखि अर्थतन्त्रसम्म प्रभावित भइरहेका बेला समस्या समाधानका लागि सम्बन्धित निकायले तत्काल ठोस पहल गर्नुपर्ने स्थानीयको माग छ ।