जनकपुरधाम, १४ भदौ । देश बाढीपहिरोको विपत्तिमा परिरहेका बेला महोत्तरीका व्यवसायी शम्भुनाथ झाले आफ्नो जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख १ रुपैयाँ सहयोग गरेका छन् ।

महोत्तरी गाउँमा जन्मिएका झाले देशका विभिन्न स्थानमा बाढीका कारण ठूलो जनधनको क्षति भइरहेको र सयौँ परिवार प्रभावित तथा विस्थापित भएको अवस्थामा व्यक्तिगत खुसीभन्दा विपद्मा परेका नागरिकको सहयोगलाई प्राथमिकता दिएको बताएका छन् ।

आफ्नो जन्मदिनमा हुने खर्च तथा उत्सवलाई प्रभावित परिवारको राहतमा योगदान गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको झाले बताए ।

‘देश नै विपत्तिमा परेका बेला व्यक्तिगत खुसीमा मात्र रमाउनु उचित लागेन । बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडामा थोरै भए पनि साथ दिनुपर्छ भन्ने सोचले जन्मदिनको अवसरमा सहयोग गरेको हुँ,’ झाले भने ।

देशका विभिन्न क्षेत्रमा बाढीका कारण नागरिकको जनजीवन प्रभावित भइरहेका बेला व्यक्तिगत उत्सवलाई सामाजिक सेवासँग जोडेर गरिएको झाको सहयोगलाई मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा लिइएको छ ।

विपद्को कठिन समयमा गरिएको यस्तो सहयोगले प्रभावित नागरिकलाई राहत पुर्याउनुका साथै अन्य व्यक्ति तथा व्यवसायीलाई समेत आफ्नो क्षमता र अवसरअनुसार विपद्मा परेका नागरिकको सहयोगमा अघि बढ्न प्रेरित गर्ने विश्वास गरिएको छ ।