जनकपुरधाम, १४ भदौ । पछिल्लो प्राकृतिक विपत्तिबाट प्रभावित परिवार तथा समुदायको सहयोगका लागि मोनास्टिक स्कुल/कलेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख १ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयले उक्त रकम सहयोग गर्न लागेको हो ।

विद्यालयका निर्देशक डा. सोनु साहले विपद्का बेला पीडितको साथमा उभिनु सामाजिक दायित्व भएको बताए । उनले विद्यालयले गरेको सहयोग रकम ठूलो नभए पनि विपत्तिमा परेका परिवारलाई केही राहत र हौसला मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको उल्लेख गरे ।

‘विपत्तिको समयमा पीडित परिवारलाई सहयोग गर्नु सबैको साझा दायित्व हो । हाम्रो यो सहयोग सानो भए पनि पीडितको दुःखमा साथ र ऐक्यबद्धता प्रकट गर्ने प्रयास हो । समाजका हरेक वर्ग र संस्थाले आफ्नो क्षमताअनुसार सहयोग गर्न सके विपद्बाट प्रभावित नागरिकलाई राहत पुग्नेछ,’ डा. साहले भने ।

विद्यालयले प्राकृतिक विपत्तिबाट प्रभावित सबै परिवारप्रति सहानुभूति व्यक्त गर्दै संकटको यस घडीमा एकजुट भएर सहयोग र सहकार्य गर्न सबैमा आग्रहसमेत गरेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने उक्त रकम प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा उपयोग हुने विद्यालयले जनाएको छ ।