जंगलमा पाडो खोज्न गएका ५५ वर्षीय फुयाल मृत फेला, हत्याको आशंका
बारा, १४ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ टाङियाबस्तीका ५५ वर्षीय गुरु फुयाल भन्ने देवी फुयाल जंगलमा मृत फेला परेका छन् ।
पाडो खोज्न जंगल गएका फुयालको शव जितपुरसिमरा–१७ स्थित काटघाट भैरव मन्दिर नजिक फेला परेको हो ।
प्रहरीका अनुसार भदौ १२ गते जंगलमा पाडो हराएपछि फुयाल भोलिपल्ट बिहान करिब साढे ५ बजे पाडो खोज्न भन्दै घरबाट निस्किएका थिए । तर, साँझसम्म पनि घर नफर्किएपछि परिवारले उनको खोजी सुरु गरेको थियो ।
फुयालका सालो कृष्णप्रसाद मैनालीले भदौ १३ गते साँझ करिब साढे ५ बजे इलाका प्रहरी कार्यालय निजगढमा घटनाबारे जानकारी गराएपछि प्रहरी निरीक्षक दाताराम अधिकारीको कमाण्डमा १० जनाको टोली खोजीमा परिचालन गरिएको थियो ।
खोजीका क्रममा फुयालको चप्पल, साइकल र शव भने फरकफरक स्थानमा फेला परेको स्थानीय कृष्ण बुढाथोकीले बताएका छन् । शव फेला परेको स्थान तथा घटनाको प्रकृति हेर्दा मृत्यु शंकास्पद देखिएको र हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरीले घटनास्थलबाट आवश्यक मुचुल्का तथा प्रमाण संकलन गरी शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ । घटनास्थलमा कोल्हबी र निजगढबाट प्रहरी टोली परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले फुयालको मृत्युको वास्तविक कारण खुल्न नसकेको भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
प्रहरीले हत्या वा अन्य कारणबाट मृत्यु भएको भन्ने विषय पोस्टमार्टम रिपोर्ट तथा अनुसन्धानपछि मात्रै यकिन हुने जनाएको छ ।


