जनकपुरधाम, १३ भ्ग्दौ । रसुवामा भोटेकोशी नदीमा आएको भीषण बाढीपछि दोसान हाइड्रोपावर २१६ मेगावाट परियोजनामा कार्यरत इन्जिनियर अजय प्रसाद सिंह अझै सम्पर्कविहीन छन् ।

कमलामाई नगरपालिका धनुषाका ३० वर्षीय सिंह परियोजनामा गुणस्तर नियन्त्रण इन्जिनियर (Quality Controller Engineer) का रूपमा कार्यरत थिए ।

बाढी आएको समयदेखि नै परियोजनाको क्याम्प नजिकबाट उनी सम्पर्कविहीन भएको परिवारजनले बताएका छन् ।

बाढी आएको दिनदेखि अहिलेसम्म सिंहसँग परिवारको कुनै सम्पर्क हुन सकेको छैन ।

मोबाइल फोनमा सम्पर्क हुन नसक्नुका साथै उनको अवस्थाबारे समेत कुनै विश्वसनीय जानकारी प्राप्त नभएको परिवारको भनाइ छ ।

परिवारजनले रसुवा क्षेत्रमा खोज तथा उद्धारमा खटिएका सरकारी तथा गैरसरकारी मानवीय उद्धार टोली, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकाय र सम्बन्धित निकायलाई अजयको खोजीमा सहयोग गरिदिन अपिल गरेका छन् ।

बाढी तथा विपद्का कारण रसुवाका विभिन्न जलविद्युत् आयोजना र आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको अवस्थामा सिंहसहित धेरै व्यक्ति सम्पर्कविहीन रहेको बताइएको छ ।

कठिन भौगोलिक अवस्था र सञ्चार सम्पर्कमा आएको अवरोधका कारण सम्पर्कविहीनहरूको खोजी तथा अवस्थाबारे यकिन गर्न चुनौती भइरहेको छ ।

परिवारले अजय सिंहको अवस्थाबारे कुनै जानकारी प्राप्त भए तत्काल सम्बन्धित परिवार वा सरोकारवाला निकायलाई जानकारी गराइदिन आग्रह गरेको छ ।