महोत्तरी, १३ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरूप्रति महोत्तरीमा शोक व्यक्त गर्दै प्रभावितका लागि राहत तथा उद्धारमा सहयोग गर्ने निर्णय गरिएको छ ।

शनिबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपद्मा ज्यान गुमाएका नागरिकप्रति औपचारिक शोक प्रस्ताव पारित गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै सम्पर्कविहीन नागरिकको सकुशल उद्धारको कामना गरिएको छ । विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।

बैठकले महोत्तरी जिल्लामा संकलन हुने राहत सामग्रीलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘एकद्वार प्रणाली’ लागू गर्ने निर्णय गरेको छ ।

खाद्यान्न, लत्ताकपडा, औषधिलगायतका सामग्री संकलनका लागि उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीय तहसँग समन्वय गरी जिल्लाका प्रमुख स्थानमा राहत संकलन केन्द्र स्थापना गरिने भएको छ ।

संकलित राहत सामग्री प्रभावित क्षेत्रमा सुरक्षित रूपमा पुर्‍याउन आवश्यक ढुवानी साधन तथा सुरक्षा व्यवस्थापन गर्ने र प्राप्त सम्पूर्ण राहत सामग्रीको पारदर्शी अभिलेख राखी विवरण सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद सहयोग जुटाउने निर्णयसमेत गरिएको छ ।

जिल्लाका कर्मचारी, जनप्रतिनिधि, व्यवसायी तथा सर्वसाधारणलाई स्वेच्छिक रूपमा आर्थिक सहयोग गर्न आह्वान गर्ने र संकलित रकम जिल्ला विपद् व्यवस्थापन कोष वा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खातामा जम्मा गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।

संकलित रकमको पारदर्शिता कायम गर्न दैनिक वा साप्ताहिक रूपमा आर्थिक विवरण जिल्ला प्रशासन कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णयसमेत गरिएको छ ।

भोटेकोशी घटनाबाट पाठ सिक्दै महोत्तरी जिल्लामा सम्भावित विपद्को पूर्वतयारी तथा प्रतिकार्य योजनालाई थप प्रभावकारी बनाउने निर्णय पनि बैठकले गरेको छ ।

यसैबीच, रसुवागढी नाका, त्रिशूली करिडोरका जलविद्युत् आयोजना तथा ट्रेकिङ क्षेत्रमा रोजगारी वा अन्य कामका सिलसिलामा पुगेका महोत्तरीका नागरिक बेपत्ता वा सम्पर्कविहीन भए/नभएको लगत संकलन गर्ने निर्णय गरिएको छ ।

त्यसका लागि सम्बन्धित निकायसँग समन्वय गरी नागरिकको पहिचान तथा अवस्थाबारे विवरण संकलन गरिने जनाइएको छ ।

बैठकले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा जिल्लाबाट आवश्यक सहयोग र ऐक्यबद्धता जनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।