रसुवा बाढी: मधेशका १७४ जना सम्पर्कविहीन, सप्तरीका मात्रै ४८ जना
जनकपुरधाम, १३ भदौ । रसुवामा आएको बाढी तथा विपद्का क्रममा मधेश प्रदेशका विभिन्न जिल्लाबाट पुगेका १ सय ७४ जना सम्पर्कविहीन भएका छन् ।
परिवार तथा आफन्तले प्रहरीमा दिएको निवेदन र टेलिफोनमार्फत प्राप्त सूचनाका आधारमा उनीहरूको विवरण संकलन गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकालका अनुसार रसुवामा सम्पर्कविहीन हुनेमा सबैभन्दा बढी सप्तरीका छन् । सप्तरीका ४८ जना सम्पर्कविहीन भएको विवरणमा उल्लेख छ ।
त्यसैगरी पर्साका ३९, बाराका २३, रौतहटका १७, महोत्तरीका १७, सर्लाहीका १५, सिरहाका १० र धनुषाका ५ जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सम्पर्कविहीनमध्ये अधिकांश रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका थिए । केही व्यक्ति रसुवास्थित विभिन्न जलविद्युत् आयोजना तथा अन्य क्षेत्रमा कार्यरत रहेको प्रारम्भिक विवरणबाट खुलेको छ ।
यद्यपि, प्रहरीको पछिल्लो अद्यावधिक विवरणमा सम्पर्कविहीन सूचीमा रहेका केही व्यक्ति परिवार तथा आफन्तको सम्पर्कमा आइसकेको उल्लेख छ ।
पर्साका ज्ञानबहादुर थिङ, श्यामलाल तोक्तान र ओमजर अन्सारी सम्पर्कमा आएको प्रहरीले जनाएको छ। रौतहटका शेख कामिजलसहित केही व्यक्तिको पनि अवस्था खुलेको छ ।
त्यस्तै, सप्तरीका अजय हरिजन पनि सम्पर्कमा आएको प्रहरीको विवरणमा उल्लेख छ । अन्य जिल्लाबाट सम्पर्कविहीन भनेर जानकारी गराइएका केही व्यक्तिसँग समेत सम्पर्क स्थापित भएको प्रहरीले जनाएको छ ।
सम्पर्कविहीनको सूचीमा पर्साको वीरगञ्ज महानगरपालिका–२२ का सरराज मियाँ, साहबुमिन अन्सारी, सरसाज मियाँ, समीर मियाँ र राहुल मियाँलगायत छन् ।
पर्साकै विभिन्न स्थानका उमेश प्रसाद, वीर किशोर कुमार, रामचरण कुमार, विनय कुमार साह, सञ्जय साह सोनार, सुरज माझी, सागर मण्डल, सुनिल यादव, रिजवान अन्सारी, आरभ चौधरी, अशोक चौधरियालगायतको नाम पनि सूचीमा समावेश छ ।
बाराबाट श्रीनिवास महतो धानुक, सुमित कुमार मण्डल र निरज कुमार कुशवाहालगायत सम्पर्कविहीन छन् । रौतहटबाट विनोद भगत, अभिषेक गुप्ता, गौरव साह, शेख कामिजल, समीर चन्द्रौरी र शंकरदेवीसहितका व्यक्तिको नाम विवरणमा छ ।
सप्तरीतर्फ सुरज चौधरी, रञ्जनदेवी चौधरी, मनीष कुमार मण्डल, धनञ्जय मण्डल, अजय कुमार यादव, हरिनारायण यादव, साजन चौधरी र बालेन्द्र चौधरीलगायतको नाम प्रहरीको सूचीमा छ ।
प्रहरीले भने सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी संकलन गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ । बाढी प्रभावित क्षेत्रमा सञ्चार तथा यातायात सेवा अवरुद्ध भएका कारण कतिपय व्यक्ति परिवारको सम्पर्कमा आउन नसकेको हुनसक्ने प्रहरीको भनाइ छ ।
त्यसैले प्रारम्भिक विवरणका आधारमा तयार पारिएको सम्पर्कविहीनको सूचीमा संख्या थपघट हुन सक्ने भन्दै प्रहरीले परिवार तथा आफन्तबाट प्राप्त नयाँ सूचनाका आधारमा विवरण अद्यावधिक गरिरहेको जनाएको छ ।


