महोत्तरी, १२ भदौ । महोत्तरीको महोत्तरी गाउँपालिका क्षेत्रबाट बग्ने रातु खोलामा बाढी आउन सक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रशासनका अनुसार रातु खोला आसपासको क्षेत्रमा पानीको बहाव बढ्न सक्ने अवस्था देखिएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा टोलीलाई सतर्क अवस्थामा परिचालन गरिएको छ ।

रातु नदी प्रणालीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदीको बहाव र आसपासको अवस्थाबारे निरन्तर जानकारी राख्न तथा जोखिम बढेमा सुरक्षित स्थानतर्फ जान प्रशासनले अनुरोध गरेको छ ।

सम्भावित बाढी तथा डुबानबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि सुरक्षा निकाय र सम्बन्धित निकायहरूलाई समेत आवश्यक तयारी अवस्थामा रहन भनिएको प्रशासनले जनाएको छ ।

प्रशासनले नदी किनार तथा तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सम्भावित जोखिमलाई बेवास्ता नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।