जनकपुरधाम, १२ भदौ । मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी, डुबान तथा कटानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग गर्न अपिल गरेका छन् ।

शुक्रबार एक अपिल जारी गर्दै प्रदेश प्रमुख कर्णले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् । उनले बाढी तथा डुबानमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

विपद्को कठिन अवस्थामा नेपाल सरकार, सुरक्षा निकाय तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रबाट भइरहेको उद्धार र राहत कार्यको प्रशंसा गर्दै प्रदेश प्रमुख कर्णले खोज, उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबीच निरन्तर समन्वय र उचित तालमेल आवश्यक रहेको बताएका छन् ।

मधेश प्रदेशमा हाल बाढीको प्रत्यक्ष प्रभाव नरहे पनि वर्षायाम र नदीको जलस्तरमा हुनसक्ने उतारचढावलाई ध्यानमा राख्दै प्रदेशवासीलाई आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

प्रदेश प्रमुख कर्णले देशका बाढी प्रभावित क्षेत्रका पीडित नागरिकलाई सहयोग गर्न मधेश प्रदेशका सामाजिक संघसंस्था, नागरिक समाज तथा स्वयंसेवकहरूलाई समेत आ–आफ्नो क्षेत्रबाट राहत र सहयोगमा हातेमालो गर्न अपिल गरेका छन् ।