मधेशका १० जना सम्पर्कमा, ११६ जना अझै बेपत्ता
जनकपुरधाम, १२ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि सम्पर्कविहीन रहेका मधेश प्रदेशका १० जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन् । १० जना सम्पर्कमा आएसँगै अझै ११६ जना सम्पर्कविहीन रहेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालका अनुसार यसअघि सम्पर्कविहीनको सूचीमा रहेका १० जना आफन्तको सम्पर्कमा आएका हुन् । उनीहरूको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन ।
यसअघि प्रहरीले रसुवा बाढीपछि मधेश प्रदेशका १२० पुरुष, पाँच महिला र एक बालक गरी १२६ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरेको थियो । तीमध्ये सबैभन्दा बढी सप्तरीका ३१ जना थिए ।
प्रहरीको विवरणअनुसार पर्साका २८, बाराका १९, रौतहटका १५, सर्लाही र महोत्तरीका १०÷१०, सिरहाका ८ तथा धनुषाका ५ जना सम्पर्कविहीन थिए ।
घरपरिवार तथा आफन्तले प्रहरीमा दिएको निवेदन र फोनमार्फत उपलब्ध गराएको विवरणका आधारमा सम्पर्कविहीनको प्रारम्भिक तथ्यांक तयार पारिएको एसएसपी ढकालले जानकारी दिए ।
प्रहरीका अनुसार सम्पर्कविहीनमध्ये ९१ जनाको बेपत्ता भएको स्थान ‘रसुवा’ मात्र उल्लेख गरिएको छ । अन्य व्यक्तिहरू रसुवाका विभिन्न जलविद्युत् आयोजना, नुवाकोटको बेत्रावती, त्रिशूली बजारलगायतका क्षेत्रमा काम वा व्यवसायका सिलसिलामा पुगेका थिए ।
सम्पर्कविहीनको विवरणमा केही व्यक्ति अपर त्रिशूली, त्रिशूली हाइड्रोपावर, मौलुङ हाइड्रोपावर लगायतका आयोजनासँग सम्बन्धित रहेको पनि प्रहरीले जनाएको छ ।
भोटेकोशीमा आएको बाढीपछि विभिन्न क्षेत्रमा सम्पर्कविहीन भएका व्यक्तिको खोजी तथा अवस्था पहिचानको काम जारी छ । प्रहरीले परिवार तथा आफन्तबाट प्राप्त हुने नयाँ सूचनाका आधारमा विवरण अद्यावधिक गरिरहेको जनाएको छ ।


