रसुवा बाढीपीडितका लागि लेखा समूह धनुषाको एक लाख सहयोग

जनकपुरधाम, ११ भदौ । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहतका लागि धनुषामा कार्यरत लेखा अधिकृत तथा लेखापालहरूको समूह ‘लेखा समूह धनुषा’ले एक लाख रुपैयाँ सहयोग गरेको छ ।
समूहले बिहीबार जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत उक्त रकम बाढीपीडितको राहतका लागि पठाएको हो ।
धनुषाका विभिन्न स्थानीय तह तथा सरकारी निकायमा कार्यरत लेखा अधिकृत, लेखापाललगायत समूहमा आबद्ध कर्मचारीबाट रकम संकलन गरी सहयोग गरिएको समूहका उपाध्यक्ष सञ्जीवकुमार महतोले जानकारी दिए ।
महतोका अनुसार मानवीय संवेदनालाई मध्यनजर गर्दै समूहका सदस्यहरूले स्वेच्छिक रूपमा रकम संकलन गरेका हुन् ।
संकलित एक लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरी त्यसको भौचरको प्रतिलिपि प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ ।
बाढीमा परी धेरैको ज्यान गएको, सयौँ घाइते भएको तथा ठूलो संख्यामा परिवार विस्थापित भएपछि प्रभावितको राहत तथा उद्धारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ ।
यसै क्रममा लेखा समूह धनुषाले पनि विपद्को समयमा पीडित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले राहत रकम उपलब्ध गराएको जनाएको छ ।

