जनकपुरधाम, ११ भदौ । बुधबार बिहान आएको बाढीबाट प्रभावित तथा पीडित परिवारलाई राहत तथा सहयोग गर्ने उद्देश्यले नापी कार्यालय धनुषामा कार्यरत ५० जना कर्मचारीले आफ्नो एक दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् ।

बाढीका कारण विभिन्न स्थानमा जनधनको क्षति हुनुका साथै धेरै परिवार प्रभावित भएपछि कार्यालयमा कार्यरत कर्मचारीहरूले स्वेच्छिक रूपमा आफ्नो एक दिनको तलब सहयोग गर्ने निर्णय गरेका हुन् ।

संकलित रकम बाढीबाट प्रभावित तथा पीडित परिवारको राहतमा प्रयोग गरिने कार्यालयले जनाएको छ ।

नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारले विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु मानवीय दायित्व भएको बताए ।

उनले कर्मचारीहरूले आफ्नो व्यक्तिगत आम्दानीबाट स्वेच्छिक रूपमा एक दिनको तलब सहयोग गर्ने निर्णय गर्नु सकारात्मक उदाहरण भएको उल्लेख गरे ।

‘बाढीका कारण समस्यामा परेका परिवारलाई तत्काल राहत र सहयोग आवश्यक छ । हामीले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले एक दिनको तलब बराबरको रकम स्वेच्छिक रूपमा उपलब्ध गराउने निर्णय गरेका हौँ,’ प्रमुख उमेश कुमारले भने ।

उनले विपद्का बेला सरकारी निकाय, कर्मचारी तथा आम नागरिक सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिए ।

बाढीपीडित परिवारको पीडामा केही भए पनि राहत पुर्‍याउने उद्देश्यले उक्त सहयोग गर्न लागिएको उनको भनाइ छ ।